सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको रत्नेचौरको तोरीबारीमा रमाउँदै टिकटक र भिडियो बनाउन आउनेहरूको चहलपहल बढेको छ।
म्याग्दी– बेनी नगरपालिका–१ रत्नेचौर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ। कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्छ।
कात्तिक–मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गर्छ।
सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको रत्नेचौरको तोरीबारीमा रमाउँदै टिकटक र भिडियो बनाउन आउनेहरूको चहलपहल बढेको स्थानीय शंकर महतले बताए। “चार वर्षअघिसम्म सुनसान हुने यो ठाउँमा अहिले दैनिक दुई हजार जनासम्म पर्यटक आएका छन्,” उनले भने, “पर्यटकको चहलपहलले व्यापार व्यवसाय र आर्थिक गतिविधि बढेको छ।”
उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृंखला, पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेका हुन्।
अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ। उत्तरतर्फ मनोरम धवलागिरि हिमशृंखलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको कुश्माबाट आएका सागर भट्टराईले बताए।
रत्नेचौरबाट संसारको सातौँ अग्लो धवलागिरि हिमाल स्पष्ट देखिन्छ। यस्तै, समथर भूभागमा फुलेका तोरीबारीसँगै बेनी–बागलुङ सडकखण्डको कालोपत्र गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ।
तोरीबारीमा मौरी र भमरा रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जीवन्त बनाएको छ। बारीको छेउकुना तथा सडकको दायाँबायाँ मानिस तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन्। पहेँलै फुलेको तारीको बीचबीचमा हुर्कँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ। रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ। झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन्।
शुक्रबार, शनिबार र सार्वजनिक बिदामा अन्य दिनमा भन्दा बढी भीड लाग्ने गरेको स्थानीय युवा कुशल शर्माले बताए। पर्यटकको भीडले गर्दा तोरी र गहुँबालीमा क्षति हुने गरेको स्थानीयले गुनासो पनि गरेका छन्। तोरी र गहुँको खेतभित्र नपसिदिन पनि स्थानीयको आग्रह छ।
रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने ३८८ मिटर लामो झोलुंगे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण बनेको छ। रत्नेचौरको प्रचारप्रसार र संस्कृति संरक्षण गर्ने उद्देश्यले यही माघ १६ गते एकदिने बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
स्वदेश तथा विदेशमा रहेका रत्नेचौरवासीबाट सहयोग जुटाएर लोकगायक गायिकाहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको स्थानीय अगुवा नेत्र महतले जानकारी दिए। पर्यटकहरूले मगर, क्षेत्री, थकाली, ब्रह्माणलगायत जातजातिको पोसाक लगाएर तस्वीर, भिडियो खिच्ने गर्छन्।
पर्यटकहरूलाई जातजातिको मौलिक पोसाक भाडामा लगाएर स्थानीयले आम्दानी गरेका हुन्। तोरीबारीमा मौलिक पोसाक लगाएर तस्वीर खिच्ने र सामाजिक सञ्जालमा राख्ने भिडियो बनाउने गरेका व्यवसायी रामकृष्ण पुनले बताउनुभयो। एक जोडा पोसाक एक घण्टा प्रयोग गरेबापत २०० देखि ३५० शुल्क लिने गरेको बताए।
“मसँग १५ जोड मगर ड्रेस छन्,” उनले भने, “दिनमा १० देखि १५ जनाले भाडामा लिनुहुन्छ।” रेस्टुरेन्ट सञ्चालकसमेत रहेका थापाले पर्यटकको तस्वीर खिचिदिने पनि गरेका छन्। एउटा तस्वीर खिचेबापत २० रुपैयाँ शुल्क लिने गरेको थापाले बताए।
रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेस्टुरेन्ट तथा पसलहरूले पनि जातीय पोसाक भाडामा लगाउने गरेका छन्। आकर्षक देखिने भएकाले जातीय पोसाक पर्यटकहरूको रोजाइमा परेको हो। बागलुङबाट रत्नेचौर आएकी रश्मी रानाले मौलिक पोसाकमा सजिएर खिचेको तस्वीर र बनाएको भिडियो स्मरणयोग्य भएको बताइन्।
“तोरी र गहुँखेती भएको फाँटको बीचमा रहेको पक्की सडकमा मगर पोसाक लगाएर खिचेको फोटो र भिडियो आकर्षक देखियो,” उनले भनिन्, “पृष्ठभूमिको धवलागिरि हिमाल र वरपरका मौलिक घरहरूले यहाँको दृश्यलाई क्यानभासजस्तै बनाएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
