सिन्जो आबेको हत्यामा संलग्नलाई आजीवन कारावासको सजाय

मुद्दा शुरू हुँदा यामागामीले हत्या गरेको स्वीकार गरेका थिए, यद्यपि केही आरोपमा उनले असहमति जनाएका थिए।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर भएका बन्दुकधारी तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय सुनाइएको छ। 

नारा शहरको अदालतमा न्यायाधीश शिनिची तनाकाले बुधबार उक्त सजाय सुनाएका हुन्। मुद्दाप्रति जनचासो अत्यधिक देखिएको थियो। बुधबार बिहानै अदालत प्रवेशका लागि टिकट लिन लामो लाइन लागेको दृश्यले यसको गम्भीरता झल्काएको थियो।

तीन वर्षभन्दा बढीअघि खुलेआम गरिएको उक्त हत्याले जापान मात्र नभई, विश्व समुदायलाई नै स्तब्ध पारेको थियो। ४५ वर्षीय यामागामीले जुलाई २०२२ मा चुनावी अभियानका क्रममा भाषण गरिरहेका प्रधानमन्त्री आबेमाथि हस्तनिर्मित बन्दुक प्रयोग गरी गोली प्रहार गरेको अभियोग खेपेका थिए। 

अक्टोबरमा मुद्दा शुरू हुँदा यामागामीले हत्या गरेको स्वीकार गरेका थिए, यद्यपि केही आरोपमा उनले असहमति जनाएका थिए। जापानी कानूनी व्यवस्थाअनुसार अपराध स्वीकार गरे पनि मुद्दा पूरै सुनुवाइ हुन्छ।

अभियोजनकर्ताले हत्यालाई ‘युद्धपछिको जापानी इतिहासमै अभूतपूर्व’ घटनाका रूपमा व्याख्या गर्दै समाजमा यसको गम्भीर असर परेको तर्कसहित आजीवन कारावासको माग गरेका थिए। जापानमा आजीवन कारावासमा प्यारोलको कानूनी सम्भावना भए पनि व्यवहारमा धेरै कैदी जेलमै जीवन समाप्त गर्ने विज्ञहरूको भनाइ छ।

मुद्दाको क्रममा अभियोजन पक्षले यामागामीको उद्देश्य एकीकरण चर्चलाई बदनाम गर्नु रहेको दाबी गरेको थियो। उनकी आमाले उक्त चर्चलाई दिएको अत्यधिक दानका कारण परिवार आर्थिक रूपमा ध्वस्त भएको र प्रभावशाली राजनीतिज्ञले सम्प्रदायलाई संरक्षण गरिरहेको पाइएको थियो।

पूर्वप्रधानमन्त्री आबे केही चर्चसम्बद्ध कार्यक्रममा सहभागी भएको पनि उल्लेख गरिएको थियो। प्रतिरक्षा पक्षले यामागामीको बाल्यकाल आमाको चरम धार्मिक आस्थाका कारण ‘धार्मिक दुर्व्यवहार’बाट प्रभावित भएको दाबी गरेको थियो। 

यस हत्यापछिको अनुसन्धानले एकीकरण चर्च र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका केही रूढिवादी सांसदबीचको घनिष्ठ सम्बन्ध उजागर गरेको छ, जसका कारण चार मन्त्रीले पद त्याग्नुपरेको थियो। अभियोजनकर्ताहरूका अनुसार यामागामीले सन् २०२० देखि बन्दुक बनाउन शुरू गरेका थिए, जसले आक्रमण पूर्वनियोजित रहेको पुष्टि गर्छ।

बन्दुक नियन्त्रणका लागि परिचित जापानमा यो घटनालाई गम्भीर चेतावनीका रूपमा लिइएको छ। बन्दुक हिंसा दुर्लभ भएकाले घटनास्थलमा सुरक्षाकर्मीले शुरूमा गोली चलेको बुझ्न नसकेको र उद्धारमा ढिलाइ भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ। (रासस/एएफपी)