मकवानपुरको सिमखोलामा दुर्घटना, १ जनाको मृत्यु

सर्लाहीबाट काठमाडौँतर्फ गइरहेको गाडी बिहीबार बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको छ।

बागमती– कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। 

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ गइरहेको मधेश प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी बिहीबार बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो। 

दुर्घटनामा घाइते सर्लाहीको वरथवा नगरपालिका–१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज लगिएको छ।