मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद विभिन्न जिल्लाबाट उल्लेख्य संख्यामा युवाहरू निर्वाचन प्रहरीमा भर्ना हुन मुस्ताङ पुगेका छन्।

मुस्ताङ– फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य संख्यामा युवाहरू निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन्।

जिल्ला प्रहरी कार्यालयमा माघ २ गतेसम्म आवेदन खुल्ला गरिएकामा आवश्यक संख्या नपुगेपछि दुई दिन समय थपिएको थियो। यहाँ ३१२ जना निर्वाचन प्रहरी माग गरिएकामा ३२३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए। 

आवेदन दिन म्याग्दी, बागलुङ, पर्वत, धादिङ, रुकुम, रोल्पा र गोर्खालगायत जिल्लाबाट युवाहरू आएका छन्।