कराची मलमा आगलागी: ५५ जनाको मृत्यु

कराचीका बजार र कारखानामा कमजोर पूर्वाधारका कारण आगलागीका घटना हुने गरेको छ।

पाकिस्तानको सबैभन्दा ठूलो शहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा कम्तीमा ५५ जनाको मृत्यु भएको छ। 

कराचीको दक्षिणी जिल्लाका उपायुक्त जावेद नबी खोसोले उद्धार कार्य अझै जारी रहेको बताए। भग्नावशेषभित्र मानव अवशेष खोज्ने प्रयास भइरहेको उनको भनाइ छ।

तीन तले गुल प्लाजामा शनिबार राति आगलागी भएको थियो। उद्धार कार्य ढिलो भएको भन्दै पीडितका आफन्तले आलोचना गरेका छन्। 

कराचीका बजार र कारखानामा कमजोर पूर्वाधारका कारण आगलागीका घटना हुने गरेको छ। तर अधिकारीहरूका अनुसार यसपटकको आगलागीको परिमाण र मानवीय क्षति असाधारण र दुर्लभ रहेको छ।

यस घटनाबारे छानबिन गर्न सरकारी समितिले अनुसन्धान थालिसकेको छ। तर आगलागी कसरी र किन भयो भन्ने स्पष्ट कारण पत्ता लाग्न सकेको छैन। (रासस/एएफपी)