पश्चिमी वायुको प्रभाव: शुक्रबारदेखि वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौँ– पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्य गरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यम वर्षा र हिमपात हुने जनाइएको छ।

विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते अर्थात् शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम क्षेत्रका थोरै स्थानमा हल्का वर्षा शुरू हुनेछ। शुक्रबार राति देशैभरका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा मध्यम हिमपातको सम्भावना छ।

पश्चिमी वायुको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने ढकालले जानकारी दिए। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित असिनाको समेत सम्भावना रहेको छ।

शनिबारदेखि मौसममा केही सुधार हुने भए पनि बदलीको असर देशभर देखिने र चिसो बढ्ने विभागले जनाएको छ। मौसम बदलीको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाबारे जानकारी लिन विभागले सूचना जारी गरी अनुरोध गरेको छ।