दोलखाका रास्वपा उम्मेदवार जगदीश खरेलसँग स्पष्टीकरण माग

मनोनयनका क्रममा २५ जनाभन्दा बढीको जुलुस निकालेको र झन्डाको दुरुपयोग गरेको भन्दै निर्वाचन आयोगले दोलखाका रास्वपा उम्मेदवार जगदीश खरेलसँग तीन दिने स्पष्टीकरण माग गरेको छ।

काठमाडौँ– निर्वाचन आयोगले दोलखाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जगदीश खरेलसँग निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा स्पष्टीकरण माग गरेको छ।

आयोगमा प्राप्त उजुरी र त्यससँगै पेस गरिएका श्रव्यदृश्य सामग्रीका आधारमा खरेलले आचारसंहिता विपरीतका गतिविधि गरेको देखिएको भन्दै आयोगले उनीसँग जवाफ मागेको हो।

खरेलमाथि निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (ढ) र (ण) उल्लङ्घन गरेको आरोप लगाइएको छ। उनले मनोनयन दर्ताका क्रममा आयोगले तोकेको सीमाभन्दा बढी अर्थात् २५ जनाभन्दा धेरैको जुलुस निकालेको आरोप छ।

“तपाईंले निर्वाचन आचारसंहिताले तोकेको २५ (पच्चिस) जनाभन्दा बढीको जुलुस लिएर मनोनयन गर्नुभएको हो वा होइन? यदि तपाईंले उल्लेखित कार्य गर्नुभएको हो भने तपाईंलाई किन निर्वाचन आचारसंहिता र प्रचलित निर्वाचन कानुन बमोजिम कारबाही गर्नु नपर्ने हो?” आयोगको पत्रमा भनिएको छ। साथै, उम्मेदवारले दलको झन्डा प्रयोग गर्दासमेत आचारसंहिताको व्यवस्था प्रतिकूल हुने गरी प्रयोग गरेको आयोगको दाबी छ।

निर्वाचन आयोगका कानून अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा खरेललाई पत्र प्राप्त भएको मितिले तीन दिनभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ। रास्वपाबाट खरेलले दोलखामा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन्।