सुदूरपश्चिममा हल्का वर्षा, रातिदेखि अन्य भूभागमा पनि मौसमी बदली हुने

सुदूरपश्चिमका केही स्थानमा शुक्रबार अपराह्नदेखि हल्का वर्षा शुरू भएको छ भने रातिदेखि देशका अन्य भूभागमा पनि बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौँ– पश्चिम नेपालबाट शुक्रबार अपराह्नदेखि वर्षा शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको जानकारी दिए।

विभागबाट प्राप्त विवरणअनुसार पछिल्लो तीन घण्टामा बैतडीको सतबाँझमा १० मिलिमिटर वर्षा भएको छ। यस्तै, दार्चुलामा ५, डडेल्धुरामा ९.४, डोटीमा ७, कञ्चनपुरमा ०.८ र कैलालीमा ०.४ मिलिमिटर वर्षा भएको छ। देशका बाँकी भूभागमा हाल मौसम मुख्यतया सफा रहे पनि रातिदेखि विस्तारै बादल फैलिने विभागले जनाएको छ।

शुक्रबार सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ६.९ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। यस्तै जोमसोममा माइनस ३ र जिरीमा माइनस ०.९ डिग्री सेल्सियस तापक्रम रहेको छ।

शुक्रबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा मध्यम हिमपातको सम्भावना छ। यस्तै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने जनाइएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित असिनाको समेत सम्भावना रहेको छ। मौसममा आएको परिवर्तनका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने देखिएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।