हिमपातका कारण रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्वको हिमाली तथा उच्च लेकाली क्षेत्रहरूमा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ। तल्लो क्षेत्रमा वर्षा भएको छ।

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ। 

लोकमार्ग अवरुद्ध हुँदा सवारीसाधन वारपार गर्न सकिरहेका छैनन्। यस खण्डमा काठमाडौँबाट छुटेका बस फसेको खबर आएसँगै इलाका प्रहरी कार्यालय  काक्रीबाट टोली खटाएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए। उक्त क्षेत्रमा निरन्तर रूपमा हिमपात भइरहेको उनले बताए।  

फसेका गाडी र यात्रुहरूको उद्धारको प्रयास भइरहेको र बाटो खुलाउनको लागि भूमे गाउँपालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्। स्काभेटर लगाएर हिउँ पन्छाउने र बाटो खुलाउने तयारी भइरहेको छ।  

रुकुम पूर्वको हिमाली तथा उच्च लेकाली क्षेत्रहरूमा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ। तल्लो क्षेत्रमा वर्षा भएको छ। हिमपातका कारण चिसोले जनजीवन प्रभावित भएको छ। 

लामो समयको अन्तरालमा भएको वर्षा र हिमपातको कारण किसान खुशी भएका छन्। पानी नपर्दा गहुँलगायत बाली सुकिसकेको थियो। पानी पर्दा खेतीपातीलाई राहत मिलेको सिस्ने गाउँपालिका–५ का विमल बिसीले बताए।