हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित

सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई पार्टीबाट निष्कासन गरेको हो।

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरूलाई समर्थन गरेका सात जना नेतालाई कारबाही गरेको छ।

सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई पार्टीबाट निष्कासन गरेको हो। 

पार्टीले टिकट नदिएपछि सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन्। महेश्वरलाई समर्थन गरेका कारण गजुरेल पनि कारबाहीमा परेका हुन्। 

उता, दाङ–१ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार केसी पनि पार्टीबाट निष्कासित भएका हुन्। केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न भनिए पनि नमानेपछि कारबाहीमा परेका हुन्। 

यस्तै, पार्टी छाडेर सिरहा–४ बाट नेकपा एमालेका उम्मेदवार बनेका धर्मनाथप्रसाद साहलाई पनि कारबाही गरिएको छ। टिकट नपाएपछि उनी एमाले प्रवेश गरेका थिए। 

पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टीका निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गरिएको जनाइएको छ।