हिउँ पन्छाएर खुलाइयो मध्यपहाडी लोकमार्ग

बाक्लो हिउँ जमेर ठप्प बनेको मध्यपहाडी लोकमार्गको बागलुङ–रुकुम खण्ड हिउँ पन्छाएपछि शनिबारदेखि सञ्चालनमा आएको छ।

बागलुङ– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ। लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमानामा पर्ने पातीहाल्ने खण्डमा बाक्लो हिउँ जमेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको थियो।

पूर्वी रुकुमतर्फबाट एक्स्काभेटरको सहायताले हिउँ पन्छाएपछि अहिले यातायातका साधन सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए।

यसअघि लोकमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र डोल्पा लगायतका गन्तव्यका लागि छुटेका साना तथा ठूला सवारीसाधन बीच बाटोमै फसेका थिए। सडकमा गाडी फसेपछि चिसोका कारण यात्रुहरू बिचल्लीमा परेका थिए।

पातीहाल्नेसहित बागलुङको निसीखोला, ढोरपाटन लगायतका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ। हिमपातका कारण स्थानीयको जनजीवन समेत प्रभावित बनेको छ।