कलैयाका तत्कालीन वडा अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घर र बाटो भएको जग्गालाई ‘नभएको’ भनी गलत सिफारिस गरी ६ लाख ९४ हजार रुपैयाँ राजस्व छली गरेको अभियोगमा अख्तियारले कलैयाका तत्कालीन वडा अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठमाडौँ– घर र बाटो भएको जग्गालाई ‘नभएको’ भनी गलत सिफारिस गरेर सरकारी राजस्व छली गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले आइतबार बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष म. जलालुदिन मन्सुर, तत्कालीन वडासचिव रघुप्रसाद सहनी, जग्गा खरिदकर्ता हिरालाल प्रसाद र बिक्रीकर्ता रौफ मिया मन्सुरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। उनीहरूमाथि सार्वजनिक सम्पत्ति हानि गरेको र गलत लिखत तयार गरी भ्रष्टाचार गरेको अभियोग लगाइएको छ।

बाराको साबिक भतौडा गाविस–२ स्थित कित्ता नं. २८८ र २९० को जग्गा हुलाकी सडकमा जोडिएको र त्यसमा पक्की घरसमेत थियो। तर, वडा अध्यक्ष र सचिवले जग्गा खरिद–बिक्रीकर्तासँगको मिलेमतोमा उक्त जग्गामा बाटो र घर केही नभएको भनी झूटो सिफारिस गरेका थिए।

अख्तियारको अनुसन्धान अनुसार उक्त जग्गाको न्यूनतम मूल्यांकन करिब ९९ लाख ४९ हजार रुपैयाँ हुनुपर्ने र सो बापत ८ लाख २४ हजार ७०१ रुपैयाँ राजस्व उठ्नुपर्ने थियो। तर, उनीहरूले ५ लाख ५० हजार रुपैयाँ मात्र थैली रकम कायम गरी १ लाख ३० हजार ५० रुपैयाँ मात्र राजस्व बुझाएर राज्यलाई ६ लाख ९४ हजार ६५१ रुपैयाँ ४५ पैसा हानि पुर्‍याएको आयोगको ठहर छ।

आयोगले तत्कालीन वडा अध्यक्ष मन्सुर र वडा सचिव सहनीलाई भ्रष्टाचार निवारण ऐन बमोजिम जनही ६ लाख ९४ हजार ६५१ रुपैयाँ बिगो कायम गरी कैद र जरिबानाको मागदाबी गरेको छ। त्यसैगरी, जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुरलाई ३ लाख ७७ हजार रुपैयाँ र खरिदकर्ता हिरालाल प्रसादलाई ३ लाख १७ हजार ६५१ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचारमा मतियारको भूमिका निर्वाह गरेको अभियोगमा मुख्य कसुरदार सरह नै सजाय माग गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।