संखुवासभामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, तीन घाइते

संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

संखुवासभा — संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा आइतबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

चैनपुर बजारबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप नुनढाकीनजिकै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारप्रसाद मैनालीले जानकारी दिए। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नं. ४ गुल्म चैनपुरका डीएसपी बाबुराम पौडेल र इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राई नेतृत्वको टोली घटनास्थल पुगेको थियो।

प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पठाइएको छ। दुर्घटनाको थप विवरण र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।