आधिकारिक स्रोतलाई मात्रै आधार मानेर समाचार सम्प्रेषण गर्न आयोगको आग्रह

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा आधिकारिक स्रोतलाई मात्र आधार बनाउन सञ्चारमाध्यमहरूसँग आग्रह गरेका छन्।

काठमाडौँ– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आधिकारिक स्रोतलाई मात्र आधार मानी समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन्।

सार्वजनिक सेवा प्रसारण नेपालद्वारा आयोजित ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन्। प्रमुख आयुक्त भण्डारीले निर्वाचनका क्रममा भ्रामक समाचार फैलिन सक्नेप्रति सचेत गराउँदै नागरिकलाई सत्यतथ्य सूचना आवश्यक हुने भएकाले आचारसंहिता पालनामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए।

“सञ्चारमाध्यमले निर्वाचनका समाचार लेख्दा सकेसम्म आधिकारिक स्रोतलाई नै आधार बनाउनुहुन म अनुरोध गर्छु,” उनले भने। पछिल्लो समय डिजिटल प्लेटफर्म र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी सामाजिक सञ्जालमा कसैको छविमा आँच पुऱ्याउने सामग्री देखिन थालेको भन्दै उनले चिन्ता व्यक्त गरे। यसलाई व्यवस्थित गर्न निर्वाचन आयोगले मेटा र टिकटक लगायतका सामाजिक सञ्जालसँग सम्झौता गर्न लागेको जानकारी समेत उनले दिए।

कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन आचारसंहिता पालनाको निगरानी गर्ने दायित्व सञ्चारमाध्यमको भएको उल्लेख गरे। विशेष गरी नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समिति (रासस) जस्ता सरकारी सञ्चारमाध्यम आधिकारिक सूचना प्रवाहमा थप जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए। राससले आन्तरिक रूपमा निर्वाचन आचारसंहिता निर्माण गरेकोमा प्रशंसा गर्दै उनले अन्य सञ्चार गृहले पनि यस्तो अभ्यास अनुसरण गर्नुपर्ने बताए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले निर्वाचन सफल पार्न र नागरिकलाई सही सूचना दिन सञ्चारमाध्यमले अहम् भूमिका खेल्नुपर्ने बताइन्। त्यस्तै, सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकारिताको धर्म र निर्वाचन आचारसंहिता दुवैलाई ध्यानमा राखेर काम गर्न सुझाव दिए।

पत्रकारले कुनै पनि दल वा विचारधाराको पक्षपोषण हुने गरी सामाजिक सञ्जालमा गतिविधि नगरी निष्पक्ष बन्नुपर्ने डा. विष्टको धारणा थियो। सोही अवसरमा नेपाल टेलिभिजनले देशभरका आफ्ना संवाददाताहरूलाई भिडियो कलमार्फत आचारसंहिताबारे अभिमुखीकरण तालिम समेत प्रदान गरेको छ।