४ जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय

सरकारले तामाकोशी पाँचौँसहित चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोगको अनुमति दिनुका साथै नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सचिव चन्द्रकला पौडेललाई जिम्मेवारी तोकेको छ।

काठमाडौँ– सरकारले विभिन्न चारवटा जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुटी खोला, तामाकोशी पाँचौँ, माथिल्लो संखुवासभा र सेती खोला जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोगको अनुमति दिने निर्णय गरेको हो।

बैठकका निर्णयबारे जानकारी दिँदै गृहमन्त्री ओमप्रकाश अर्यालले भने, “मन्त्रिपरिषद्ले चार वटा जलविद्युत् आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।”

यसैगरी, बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी तोक्ने निर्णय गरेको छ।