छानबिन आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले जेनजी प्रदर्शनबारे गठित छानबिन आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग गर्दै वन्यजन्तुको आक्रमण र भूकम्पपीडितले राहत नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– संघीय संसद् राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरूले भदौ २३ र २४ गतेको 'जेनजी' प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित आयोगको प्रगति विवरण माग गरेका छन्। सांसद सुमित्रा बिसीले सो घटनाको छानबिन कहाँ पुग्यो भन्दै सदनलाई तत्काल जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन्।

बैठकमा वन्यजन्तु र मानवबीचको द्वन्द्वको विषय पनि प्राथमिकतासाथ उठेको छ। राष्ट्रियसभा सदस्य गंगाकुमारी वेल्वासेले राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट बर्सेनि नागरिकको ज्यान जाने र घाइते हुने संख्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गरिन्। यसैगरी, सांसद गोपीबहादुर सार्की अछामीले झापा, मोरङ, सुनसरी र उदयपुर लगायतका जिल्लामा हात्तीको आतंक बढेकाले यसको दीर्घकालीन समाधान खोज्न माग गरे।

जनस्वास्थ्य र विपद् व्यवस्थापनका विषयमा बोल्दै सांसद तुलसाकुमारी दाहालले सर्लाहीमा दादुरा र रुबेला जस्ता सरुवा रोगको प्रकोप बढिरहेको जानकारी दिइन्। उनले रोग नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सेवा र पूर्वतयारीमा जुट्न सरकारलाई आग्रह गरिन्।

अर्का सांसद मायाप्रसाद शर्माले जाजरकोट भूकम्पपीडितले अझै पर्याप्त राहत नपाएको र पुनर्निर्माण सम्पन्न नहुँदा उनीहरूको जीवन कष्टकर बनेको गुनासो गरे। यस्तै, सांसद शारदादेवी भट्टले सडक सुरक्षाको मुद्दा उठाउँदै मदिरा सेवन गरी सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कठोर सजाय दिने व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।