भरतपुरका तत्कालीन इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा, पौने ७ करोड अवैध आर्जन गरेको अभियोग

अख्तियारले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध ६ करोड ७८ लाख रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनस्थित भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। अख्तियारले उनीविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ गैरकानूनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मंगलबार मुद्दा दायर गरेको हो।

आयोगले आचार्य सेवा प्रवेश गरेको २०४८ माघ ६ देखि २०८० असार ६ सम्मको अवधि (करिब ३१ वर्ष)लाई जाँच अवधि कायम गरी आय-व्ययको विश्लेषण गरेको थियो। यस अवधिमा आचार्य र उनको परिवारको वैध आम्दानी तीन करोड ५१ लाख आठ हजार २१० रुपैयाँ देखिए पनि खर्च र लगानी भने १० करोड २९ लाख ९९ हजार २२६ रुपैयाँ पुगेको पाइएको छ। आयको तुलनामा खर्च बढी देखिएपछि स्रोत नखुलेको ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ अवैध रहेको अख्तियारको ठहर छ।

आचार्यले पदीय मर्यादाविपरीत आर्जन गरेको सम्पत्ति श्रीमती लिली सुवेदीको नाममा समेत राखेको अनुसन्धानबाट खुलेको छ। सार्वजनिक सेवामा रहँदा उनले आफ्नो वैधानिक आयको तुलनामा अस्वाभाविक र उच्च जीवनस्तर यापन गरेको तथा वास्तविक सम्पत्ति लुकाइ झूट्टा विवरण पेश गरेको अख्तियारले जनाएको छ।

अख्तियारले आचार्यलाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र बिगो बराबरको जरिबाना मागदाबी गरेको छ। साथै, गैरकानूनी रूपमा आर्जन गरी श्रीमतीको नाममा राखिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी श्रीमती लिली सुवेदीलाई पनि प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।