आचारसंहिता उल्लंघन : निर्वाचन आयोगले माग्यो थप ७ पक्षसँग स्पष्टीकरण

निर्वाचन आयोगले सामाजिक सञ्जालमा घृणाजन्य अभिव्यक्ति दिएको, गालीगलौज गरेको तथा बालबालिका प्रयोग गरेको भन्दै थप सात व्यक्ति तथा निकायसँग स्पष्टीकरण माग गरेको छ। हालसम्म १५ पक्षलाई स्पष्टीकरण सोधिँदा एउटाको मात्र जवाफ आएको आयोगको भनाइ छ।

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी सात व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ।

नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जानुका पाठक (शोभा पाठक)ले सामाजिक सञ्जालमा सोही निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा दलविरुद्ध गालीगलौज, भ्रामक, द्वेषपूर्ण र व्यक्तिगत मानहानी हुने सामग्री प्रसारण गरेको विषयमा आयोगले स्पष्टीकरण मागेको छ। आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार पाठकले निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ञ) र (ण) उल्लंघन गरे/नगरेको विषयमा जवाफ माग गरिएको हो।

त्यसैगरी, श्रम संस्कृति पार्टीलाई दलको लोगो, नाम, चिह्न र उम्मेदवारको तस्बिर अंकीत टिसर्ट लगाएर बालबालिका प्रयोग गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ। यस कार्यबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (घ) उल्लंघन भएको आयोगको ठहर छ।

जनसेवा पार्टीका उम्मेदवार कमल भुसाल (डा. निकोलस)लाई उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको जुत्ताका सम्बन्धमा स्पष्टीकरण सोधिएको छ। 'जेनजी' आन्दोलनमा रगत लतपतिएको भनिएको भाइरल जुत्ता अमुक व्यक्तिको रहेको र सो जुत्ताको दुरुपयोग भएको भनी उजुरी परेपछि आयोगले यसबारे जवाफ मागेको हो।

यस्तै, नेपाल स्वास्थ्य स्वयम्सेवक संघलाई निर्वाचनका बेला ट्रेड युनियनको अधिवेशन गर्न लागेको विषयमा स्पष्टीकरण सोधिएको छ। आयोगले संघलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ।

आधारभूत विद्यालय श्रीसिया, आदर्शचोकलाई विद्यालयमा कार्यरत बालविकास शिक्षिका सन्तोषी गुप्तालाई करकापमा पारी सरुवा गरिएको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (च) अनुसार विद्यालयलाई दुई दिनभित्र जवाफ पेस गर्न भनिएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। मधेशी समुदायको संस्कृति र पहिचानमाथि प्रहार, भाषिक नश्लवाद र घृणास्पद अभिव्यक्ति दिएको उजुरी परेपछि आयोगले यसबारे जवाफ मागेको हो। यसबाट संविधानको धारा १८, आचारसंहिताको दफा ४ को खण्ड (ठ), दफा १३ को उपदफा (१) को (ञ), मुलुकी अपराधसंहिता, २०७४ को दफा १५६ र विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ समेत उल्लंघन भए/नभएको विषयमा आयोगले बस्नेतसँग जवाफ माग गरेको छ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहलाई एमाले अध्यक्षले सामाजिक सञ्जालमा राखेको सार्वजनिक बहसको प्रस्तावमा उनले दिएको प्रतिक्रियाका सम्बन्धमा स्पष्टीकरण सोधिएको छ।

आयोगले हालसम्म आचारसंहिता विपरीत कार्य गर्ने १५ वटा पक्षलाई स्पष्टीकरण सोधिसकेको छ, जसमध्ये हालसम्म एउटाको मात्र जवाफ प्राप्त भएको जनाइएको छ।