मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन्।

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
रासस

मुस्ताङ– जिल्लाका विभिन्न भेगमा  मंगलबार रातिदेखि भारी हिमपात भएको छ। यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन्। अधिकांश स्थानमा वर्षा पनि भएको छ। 

हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ। केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ। हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए।  

त्यसैगरी, हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा पनि रातिदेखि नै हिमपात भइरहेको छ। 

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख शंकर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ। हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन्। 

उता, बाजुराको बडीमालिका, बुढीगंगा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ। 

हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ।