डेढ लाख घुससहित बारबर्दियाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानीमा सहजीकरण गरिदिएबापत सेवाग्राहीबाट डेढ लाख रुपैयाँ घुस लिँदै गर्दा बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव मल्ललाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

काठमाडौँ– बर्दियाको बारबर्दिया नगरपालिकाका एक इन्जिनियर डेढ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्ललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो।

मल्लले बारबर्दिया नगरपालिका–७ स्थित जनता माध्यमिक विद्यालय रम्भापुरको चारकोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस मागेको उजुरी परेको थियो।

सोही सूचनाका आधारमा आयोगको बुटवलस्थित सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो। मल्लमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।