डोजरले निलेका गोरेटोलाई पदमार्गको ‘विकासे ट्याग’

विकासको नाममा डोजरले जथाभाबी पहाड खनेर मौलिक गोरेटो र घोडेटोहरू मासिएपछि अहिले गाउँ–गाउँमा खेतबारी जाने बाटोलाई समेत पदमार्गको नयाँ ‘ट्याग’ भिराएर बजेट सिध्याउने होडबाजी चलेको छ।

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, घारका श्यामप्रसाद खड्का हिजोआज आफ्नै गाउँका बाटो हिँड्दा कता-कता बिरानो महसुस गर्छन्। गाउँमा वनपाखा जाने ठाउँकै नामबाट बाटो चिनिन्थ्यो। तर, पालिकामा बजेट विनियोजन हुँदा त्यसलाई ‘पदमार्ग’ भनी नामकरण गरिएको हुन्छ। सधैँ हिँड्ने बाटो मर्मत गरी बनाएको पदमार्गमा हिँड्दा उनलाई ‘विकासे’ बाटो कतै केही नमिलेको झैँ लाग्छ।

“घाँसदाउरा र खेतबारीमा जाने बाटोलाई पदमार्ग भन्दा अपनत्व नभए जस्तो, कतै अन्यत्र गए जस्तो महसुस हुन्छ,” खड्का भन्छन्, “पुरानै नाममा मिठास र आत्मीयता थियो।”

नेपालको प्रसिद्ध पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गको अधिकांश भाग सडकले पुरेको छ। अन्नपूर्ण चक्रीय पदमार्गको एउटा खण्ड घान्द्रुक–घोरेपानी (पुनहिल) पदमार्ग पनि अब मोटरबाटोको धुलोले छपक्कै छोपिएको छ। त्यस्तै, अन्नपूर्ण प्रथम हिमाल पुग्ने मौरिस हर्जोग पदमार्गको ४२ किलोमिटरमध्ये २२ किलोमिटरमा मोटरले नै पर्यटक बोक्छन्। म्याग्दी खोलाबाट जाने राउन्ड धौलागिरि पदमार्ग र राहुघाट खोला पछ्याउँदै उक्लिने धौलागिरि आइसफल पुग्ने सेन्चुरी पदमार्गको अधिकांश घना जंगली भाग मोटरबाटोले भताभुंग बनाएको छ।

‘विकास’ का नाममा जथाभाबी खनिएका सडकले दशकौँदेखि विदेशी पर्यटक लोभ्याउने शान्त र प्राकृतिक गोरेटोहरूलाई विस्थापित मात्र गरेका छैनन्, पदयात्रामा निस्किने पर्यटकको बसाइ अवधिसमेत घटाउँदै लगेका छन्। सडक विस्तारसँगै पदमार्गको परिभाषा फेरिन थालेको छ भने पुराना गोरेटो र घोडेटोहरू मासिएका छन्।

मानिसको दैनिकी सडकसँग जोडिएपछि पुराना मार्गहरू प्रयोगविहीन भए र नयाँ गोरेटो खन्नुपर्ने बाध्यता आइलाग्यो। पर्यटक हिँड्ने मौलिक पदमार्ग मासिएपछि अहिले प्रदेश र स्थानीय सरकारले साधारण गोरेटो बाटोलाई समेत ‘पदमार्ग’ को ट्याग लगाएर बजेट सिध्याउने नयाँ जुक्ति निकालेका छन्।

अहिले गाउँ–गाउँमा खेतबारी र वनजंगल जान वा घरबस्तीबाट मोटरबाटोसम्म पुग्न ढुंगा छापेका वा सिमेन्ट प्रयोग गरिएका आरसीसी सिँढी बनिरहेका छन्। संघीय, प्रदेश र स्थानीय तीनै तहले आफ्ना कार्यक्रम र बजेटमा तिनै सिँढीयुक्त बाटोलाई ‘पदमार्ग’ लेख्ने गरेका छन्।

null

तर, सैद्धान्तिक रूपमा पदमार्ग शब्दले एक गन्तव्यबाट अर्को गन्तव्यसम्मको लामो दूरीका पर्यटकीय उद्देश्यले हिँडिने बाटोलाई बुझाउँछ। अहिले गाउँघरमा निर्माण भएका छोटो दूरीका र चिटिक्क पारिएका बाटाहरू सुधारिएका गोरेटो मात्र हुन्। यस्ता सुधारिएका गोरेटोलाई पनि ‘पदमार्ग’को ट्याग भिराइँदा वास्तविक पर्यटकीय महत्त्व घटेको पर्यटनकर्मी चित्र तिलिजा बताउँछन्।

पर्यावरणमैत्री पर्यटन तथा शहरी विकास अभियन्ता सौरभ ढकालका अनुसार अर्थ उस्तै लागे पनि गोरेटो (फुटपाथ), घोडेटो (म्युल ट्रेक), पदमार्ग (ट्रेकिङ ट्रेल) र पैदल मार्ग (पेडिस्ट्रियन वे) बीच प्राविधिक, सांस्कृतिक र व्यावहारिक भिन्नता छन्। मानिस र जनावरको आवतजावतका लागि यी प्राकृतिक तथा मानवनिर्मित बाटाहरू प्रयोगमा आएका हुन्।

उनको भनाइमा, गोरेटो सबैभन्दा पुरानो र प्राकृतिक बाटो हो। मानिस र गाईबस्तु मेलापात तथा वनजंगल जान प्रयोग गर्ने साँघुरा बाटाहरू गोरेटो हुन्। गोरेटोलाई सुधार गरी घोडाखच्चडबाट मालसामान ढुवानी गर्न योग्य बनाइएका बाटाहरू घोडेटो हुन्।

पदमार्ग केवल गन्तव्यमा पुग्ने बाटो मात्र नभई पर्यटनसँग जोडिएको संस्कृति र अनुभव हो, जहाँ यात्राक्रममा खान-बस्न पाइने सुविधा र दिशानिर्देश चिह्नहरू हुन्छन्। पैदल मार्ग शहरी क्षेत्रमा सवारीसाधन गुड्ने सडकको किनारमा मानिस हिँड्न बनाइएको बाटो नै पैदल मार्ग हो।

नेपालको ग्रामीण भेगमा विकासको कथा गोरेटोबाटै शुरू भएको हो। यी बाटा केवल हिँड्ने मार्ग मात्र थिएनन्, यिनीहरूसँग जीवनशैली, संस्कृति र इतिहास जोडिएका थिए। धौलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँ भन्छन्, “समय अन्तरालमा ती नासिँदै गएका छन्। गोरेटो मात्र होइन, अर्थतन्त्रको मेरुदण्ड मानिने पदमार्गहरू समेत मोटरबाटोले तहसनहस पारेको छ। बचेका पदमार्ग पनि विनाशको संघारमा छन्।”

२०५० सालसम्म पैदल हिँड्न मिल्ने गोरेटो बाटो राजनीतिक दलको चुनावी अजेन्डा हुन्थ्यो। अजिंगरभीर र नाउराभीर २०६४ सालसम्म भोट माग्ने प्रमुख आधार थिए। तर अहिले विकासको चित्र र भाष्य फेरिएको छ। घरदैलोसम्म बाह्रै महिना मोटर चल्न सक्ने सडक प्राथमिकतामा परेको छ। गाउँ–गाउँमा पर्यावरणको ख्यालै नगरी डोजरले पहाड भत्काएर गरिएको ‘डोजरे सडक क्रान्ति’ले भूगोललाई मात्र होइन, सामाजिक संरचनालाई पनि भत्काइदिएको छ।

null

‘सडक क्रान्ति’ले पहुँच र व्यापार थपे पनि परम्परागत गोरेटाहरू भने नष्ट भए। गैरसरकारी संस्था ‘मिलन’की कार्यकारी निर्देशक दीलु विटालु भन्छिन्, “दैलोसम्मै मोटरबाटो पुर्‍याउने चाहले गोरेटो, घोडेटो, चौतारी, कुवा र कुलो सबै नासिए। अहिले बढी विकासप्रेमी बन्ने होडबाजी चलिरहेको छ।”

म्याग्दीको रघुगंगा गाउँपालिकाका सिनियर सब–इन्जिनियर कमल चोखालका अनुसार सडक पुगेपछि गोरेटोको आवश्यकता सकियो भन्ने ठानिएको थियो, तर त्यसो भएन। बरु बस्ती र सडक जोड्न फेरि गोरेटो नै चाहिने भयो। समयसँगै नासिएका परम्परागत मार्गहरू अचेल नाम फेर्दै ‘पदमार्ग’मा रूपान्तरण हुँदै छन्। चोखाल भन्छन्, “गोरेटो बाटोभन्दा योजना बाँड्नेहरूले बजेट नछुट्याउने भएकाले पर्यटन क्षेत्रबाट नाम चोरेर योजनाहरूको नाम ‘पदमार्ग’ राख्ने चलन आएको हो। विकासको शैली उस्तै हो।”

नामसँगै गोरेटोको स्वरूप पनि फेरिएको छ। साँघुरा र जोखिमयुक्त पुराना बाटोको सट्टा अहिले ढलानयुक्त वा ढुंगा बिछ्याइएका आकर्षक सिँढी बन्ने गरेका छन्। घना बस्ती भित्र त अझ ढल निकाससहित बाटा मर्मत गरिएका छन्।

स्थानीय सम्पदा, पहिचान र सांस्कृतिक महत्त्व बोकेका गाउँघरका गोरेटो बाटोलाई ‘पदमार्ग’को नाम दिने काममा 'प्रधानमन्त्री रोजगार कार्यक्रम' (जो चालु आर्थिक वर्षमा खारेज भएको छ) प्रमुख माध्यम बन्यो। यस्तै, प्रदेश पर्यटन कार्यालयका कार्यक्रमहरू पनि गोरेटोको नाम फेरेर बजेट सिध्याउन अग्रपंक्तिमा देखिन्छन्। यसैको सिको गर्दै गत वर्ष म्याग्दीका ६ वटा स्थानीय तहले ५ सयभन्दा बढी ‘टोले पदमार्ग’ निर्माण गरेका थिए। यस्ता पदमार्गहरू शहरी क्षेत्रमा बढीजसो आरसीसी (सिमेन्ट ढलान) गरिएका छन् भने ग्रामीण भेगमा ढुंगे छपनी राखेर सिँढी बनाउने गरिएको छ।

अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजाका अनुसार सडकले पुरानो बाटो मासिएपछि अर्को विकल्प चाहिएकाले सानो बजेट र जनश्रमदानबाट यस्ता पदमार्ग निर्माण गरिएका हुन्।

यद्यपि, डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत तथा संरक्षणकर्मी चन्द्रमणि सापकोटाका अनुसार गोरेटो बाटोहरू नेपाली ग्रामीण जनजीवनका सांस्कृतिक तथा सामाजिक सम्पदा हुन्। सामुदायिक सहभागितामा निर्माण गरिएका ढुंगे सिँढीयुक्त वातावरणमैत्री गोरेटोहरूको संरक्षण आवश्यक रहेको उनी बताउँछन्। सापकोटा भन्छन्, “आरसीसी ढलानयुक्त सिँढीहरू झट्ट देख्दा राम्रा लागे पनि यी वातावरण अनुकूल छैनन्, न त यिनले परम्परागत ग्रामीण जीवनशैलीको झलक नै दिन सकेका छन्।”

मानिसले प्रयोग गरेको सबैभन्दा पुरानो र प्राकृतिक बाटो मासिएपछि सम्भव भएसम्म गोरेटो र घोडेटोको मर्मत तथा संरक्षण गर्दै बेलढुंगा र पुलाहाश्रम जस्ता धार्मिक तथा पर्यटकीय स्थलसँग जोडेर 'सम्पदा मार्ग' (हेरिटेज ट्रेल)का रूपमा विकास गर्न थालिएको बेनी नगरपालिकाका मेयर सुरत केसी बताउँछन्।

null

तर, विकास र संरक्षणको बहसमा स्थानीयका आफ्नै पीडा र तर्क छन्। अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका सुशील गर्बुजा प्रश्न गर्छन्, “पर्यटक हिँड्छन् भनेर हामी कति पुस्तासम्म पिठ्युँमा डोको बोकेर बाँच्ने? कति दिन खुट्टाले चिसो बाटो नापेर जीवन बिताउने?”

धवलागिरी गाउँपालिका–४, मुदीका युवा विजय रोकाको पनि उस्तै भनाइ छ। उनी भन्छन्, “सीमित मान्छेले पर्यटनको लाभ लिन्छन् भनेकै आधारमा दुर्गमका गाउँले कति दिन आधुनिक सुविधा उपभोग गर्नबाट वञ्चित हुने? हामी कति दिन ‘जीवित सङ्ग्रहालय’ बनेर बस्ने? बिरामी पर्दा भीरको बाटोमा डोकोमा कति दिन बोकिने र नुनतेलका लागि कहिलेसम्म भरियामै निर्भर रहने? त्यसैले हामी पदमार्गभन्दा सडककै पक्षमा छौँ।”

अभियन्ता सौरभ ढकालका अनुसार सडक खन्ने र पदमार्ग जोगाउने विषय द्वन्द्व गर्नुपर्ने विषय होइन। विकास र पर्यटन एक-अर्काका शत्रु पनि होइनन्। मुख्य समस्या भनेको ‘इन्जिनियरिङ दृष्टि’को अभाव हो। सम्भव भएसम्म सांस्कृतिक पहिचान बोकेका पदमार्ग र गोरेटाहरू जोगाउँदै मोटरबाटो खन्ने र गाडी गुडाउने गर्नुपर्छ। 

“सम्भव नभएको स्थानमा वैकल्पिक ‘हेरिटेज ट्रेल’ (सम्पदा मार्ग) निर्माण गर्दा भइहाल्यो नि!” ढकालको तर्क छ, “गोरेटो पुर्खाको पाइला हो, घोडेटो हाम्रो ढुवानीको आधार हो, पदमार्ग अर्थतन्त्रको मेरुदण्ड हो र पैदल मार्ग हाम्रो शहरी सभ्यताको परिचय हो।”