बाँदरको आतंकले किसान चिन्तित, समात्नेलाई एक हजार पुरस्कार

बाँदरको आतङ्कका कारण खेतीपाती नै छाड्नुपर्ने अवस्था आएपछि रामेछापको चिसापानीमा नियन्त्रण समिति गठन गरी बाँदर समात्नेलाई नगद पुरस्कारको घोषणा गरिएको छ।

रामेछाप– मानव बस्ती पातलिँदै र जंगल क्षेत्र विस्तार हुँदै जाँदा रामेछापका ग्रामीण क्षेत्रका बासिन्दालाई बाँदर नियन्त्रण मुख्य चुनौती बनेको छ। गाउँमा लगाएको बाली बाँदरले सखाप पार्न थालेपछि धेरै किसानले खेतीपाती नै छाड्न थालेका छन्। बाली लगाउने सिजनमा समेत किसानहरूलाई उब्जनी कसरी जोगाउने भन्ने चिन्ताले सताउने गरेको हो।

बाँदरको उपद्रो बढेपछि रामेछापको मन्थली नगरपालिका–८, चिसापानीमा स्थानीयकै अग्रसरतामा ‘बाँदर नियन्त्रण समिति’ गठन गरिएको छ। वडा कार्यालयको समन्वयमा आयोजित किसानहरूको भेलाले उक्त समिति बनाएको वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए।

“यदि बाँदर नियन्त्रण र उचित व्यवस्थापन गर्न नसक्ने हो भने ग्रामीण भेगमा मानिसहरू बस्नै नसक्ने अवस्था आउने देखिन्छ,” वडाध्यक्ष श्रेष्ठले चिन्ता व्यक्त गरे। सरकारले कृषिका लागि विभिन्न अनुदान र सहयोग उपलब्ध गराए पनि बाँदरकै कारण थन्क्याउने बेला हात खाली हुने भएपछि किसानहरू निराश बनेको उनको भनाइ छ।

null

बाँदर नियन्त्रणका लागि वडा कार्यालयले केही ठोस योजनाहरूसमेत अघि सारेको छ। जसअन्तर्गत बाँदर समात्ने व्यक्तिलाई प्रोत्साहन स्वरूप प्रतिबाँदर एक हजार रुपैयाँ नगद पुरस्कार दिने व्यवस्था गरिएको छ। समातिएका बाँदरलाई रङ लगाएर छाड्ने वा अन्य वैकल्पिक व्यवस्थापन गर्ने तयारी वडाको छ।

स्थानीयका अनुसार जंगल बाक्लो हुँदा बाँदरहरू लुक्ने ठाउँ पाएका छन्, जसले गर्दा धपाउन मुस्किल हुने गरेको छ। बाँदरहरू रूखको टुप्पामा पुग्ने भएकाले वृद्धवृद्धाले मात्र तिनलाई धपाउनै सक्दैनन्।

null

बाँदरको आश्रयस्थल कम गर्न वडाले अर्को अभियान पनि शुरू गरेको छ। जसमा बारीका कान्ला र वरपरका झाडी एवं रूखका हाँगाहरू काँटछाँट गरी बस्ती आसपासको क्षेत्र पातलो बनाउने कार्यक्रम अघि सारिएको छ।

“बारीका कान्लाहरू नै जंगल जस्ता भइसकेकाले बाँदर त्यहीँ लुक्ने गरेका हुन्,” वडाध्यक्ष श्रेष्ठले थपे, “त्यसैले नियन्त्रणका लागि रूख-पात काँटछाँट र सरसफाइ गर्ने कार्यलाई हामीले प्राथमिकता दिएका छौँ।”