उच्च पहाडी भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भागमा आंशिक बादल लागेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ। 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भागमा आंशिक बादल लागेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो तराईका केही स्थानमा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना छ।

त्यसैगरी, राति तराईका केही स्थानमा हुस्सु रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षासमेत हुने विभागको पूर्वानुमान छ।