झापाको सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने दक्षिणी सीमावर्ती कचनकबल गाउँपालिकाका केही बस्तीमा चुनावी गतिविधि देखिन सकेको छैन।

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएसँगै देशका अधिकांश शहरी तथा ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ। सामाजिक सञ्जालदेखि चिया पसल, चौतारी र बस्तीसम्म ‘यसपालि कसलाई मत हाल्ने’, ‘कस्तो प्रतिनिधि रोज्ने’ भन्ने विषयमा बहस भइरहेका छन्। राजनीतिक दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरू पनि मतदाता भेटघाटमा व्यस्त छन्।

तर झापाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने दक्षिणी सीमावर्ती कचनकबल गाउँपालिकाका केही बस्तीमा भने चुनावी गतिविधि देखिन सकेको छैन। भारतसँग जोडिएको यो सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मतदाताले निर्वाचन हुँदैछ भन्ने जानकारी त पाएका छन्, तर ‘को–को उम्मेदवार छन्’ भन्ने विषयमै अन्योल रहेको बताएका छन्।

“समाचार र सामाजिक सञ्जालबाट चुनाव हुँदैछ भन्ने त थाहा छ, तर यहाँबाट को उम्मेदवार उठेका छन् भन्ने जानकारी छैन,” कचनकबल गाउँपालिका–५ का पूर्णकुमार गणेशले भने। उहाँका अनुसार, अहिलेसम्म न त पुराना दलका उम्मेदवार पुगेका छन्, न त स्वतन्त्र उम्मेदवारी दिएका कुनै व्यक्ति नै। 

कचनकबल–५ कै इद्रिस मियाँ, जमालुद्दिन मियाँ र सोर्जु हजाम पनि यही गुनासो दोहोर्‍याउँछन्। राष्ट्रियस्तरमा चर्चामा रहेका राजनीतिक दल, तिनका शीर्षनेता र समग्र राजनीतिक घटनाक्रमबारे दुर्गम बस्तीका मतदातासमेत जानकार देखिए पनि, आफ्नै निर्वाचन क्षेत्रका उम्मेदवारसँग भने सम्पर्क हुन सकेको छैन।

इद्रिस मियाँ भन्छन्, “यहाँबाट चुनाव लड्ने मान्छे को हो भन्ने नै थाहा छैन। उम्मेदवार आफै नआउँदा कसरी चिन्ने?” मतदातामा राजनीतिक दल र उम्मेदवारप्रति देखिएको यो दूरीको मुख्य कारण भने निर्वाचनमा देखिँदै आएको पुरानै प्रवृत्ति भएको उनीहरूको बुझाइ छ। “चुनावका बेलामा मात्रै बाचा गर्छन्, भोट माग्न आउँछन्, जितेपछि फर्केर हेर्दैनन्,” जमालुद्दिन मियाँको गुनासो छ। 

स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, स्वच्छ खानेपानी, सिँचाइ र रोजगारीजस्ता आधारभूत समस्या वर्षौंदेखि उस्तै छन्। कचनकबल गाउँपालिका झापाको दक्षिणी सीमामा पर्ने दुर्गम क्षेत्र मानिन्छ। यहाँका धेरै बस्ती भारतसँग जोडिएका छन्। सीमापारिका भारतीय बजारमा दैनिक उपभोग्य सामग्री सस्तो पाइने भए पनि नेपालतर्फ महँगो मूल्य तिर्नु परिरहेको समस्या छ। 

“भारतमा राशन कार्ड, सस्तो खाद्यान्न र स्वास्थ्य सुविधा छ। नेपालमा त्यस्तो सुविधा नहुँदा यहाँका गरिब जनता झन् समस्यामा छन्,” स्थानीय सोर्जु हजामले भनिन्। यस क्षेत्रका मतदाताहरूले उम्मेदवारसँग ठूला भाषणभन्दा पनि आफ्ना दैनिक जीवनसँग जोडिएका यथार्थ समस्या समाधानको अपेक्षा गरेका छन्। तर अहिलेसम्म उम्मेदवारहरू नै गाउँ नपुगेकाले आफ्नो आवाज कसरी राख्ने भन्ने अन्योल देखिन्छ। 

झापा–३ मा यसपटक १७ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे, नेकपा एमालेबाट हरिबहादुर राजवंशी, नेपाली कम्युनिस्ट पार्टीबाट डिल्लीराम घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्रप्रसाद लिङ्देन, जनता समाजवादी पार्टी नेपालबाट कर्णलाल राजवंशी, जनमत पार्टीबाट हरसलाल राजवंशी, नेकपा माओवादीबाट सन्तोष कटुवाल उम्मेदवार छन्।

त्यसैगरी, उज्यालो नेपाल पार्टीबाट श्यामकृष्ण पाठक, जनता समाजवादी पार्टीबाट विनीताकुमारी राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला सावा, नेसनल रिपब्लिक पार्टीबाट जयेन मगर, श्रम संस्कृति पार्टीबाट दीपक तिम्सिना, नेपाल मजदुर किसान पार्टीबाट धर्मलक्ष्मी दुवाल (लघु), मंगोल नेसनल अर्गनाइजेसनबाट यामकुमार श्रेष्ठ उम्मेदवार रहेका छन्। साथै अभय राजवंशी र मानप्रकाश संग्रौला स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।