स्वास्थ्य बिमा भुक्तानी नपाउँदा पर्वत अस्पतालको सेवा प्रभावित

अस्पतालले स्वास्थ्य बिमा गरेका बिरामीको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ। तर समयमा रकम भुक्तानी नदिँदा रकम बढ्दै गएको छ।

पर्वत– स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत संकटमा परेको छ। स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले ३ करोडभन्दा बढी भुक्तानी पाउन नसकेको हो। 

गत आर्थिक वर्षदेखिको स्वास्थ्य बिमा तथा ‘डायलायसिस’बापतको ३ करोड बढी रकम भुक्तानी लिन नसक्दा अस्पतालका क्रियाकलाप प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डीराज पौडेलले जानकारी दिए। 

अस्पतालले स्वास्थ्य बिमा गरेका बिरामीको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ। तर सरकारले समयमा रकम भुक्तानी नदिँदा भुक्तानी रकम बढ्दै गएको छ।

स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा औषधि तथा उपकरण खरिद, कर्मचारीहरूको तलब, भत्ता भुक्तानी तथा अन्य नियमित काम व्यवस्थापनमा समस्या परेको डा. पौडेलले बताए। रकम भुक्तानीका लागि पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ।

“बिरामी सामान्य समस्या पर्दा पनि अस्पताल आइपुग्नुहुन्छ, उनीहरूलाई सेवा दिनै पर्छ, तर मन्त्रालयले भुक्तानी दिन ढिलाइ गर्दा औषधि, सहायता सामग्रीलगायत ल्याबसम्बन्धी सेवा दिन समस्या भइरहेको छ,” उनी भन्छन्, “अस्पताल व्यवस्थापन समितिको कोषबाट जेनतेन अहिलेसम्म व्यवस्थापन गरिएको भए पनि अब संकट हुन थालेको छ।” 

बिमाको रकम भुक्तानी नआउँदा औषधि खरिद प्रक्रियासमेत अवरोध भइरहेको उनले बताए। जिल्लामा स्वास्थ्य बिमामा आबद्ध भएका झन्डै ४५ प्रतिशत नागरिकले अस्पतालबाट सेवा लिने गरेका छन्। सरकारले देशभरका सबै अस्पतालका लागि तोकेको दररेटको रकम दिने गरेको भए पनि त्यो रकम बर्सेनि भुक्तानी लिन समस्या पर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याबहादुर परियारले बताए। 

एक परिवारका लागि ३ हजार ५०० रुपैयाँको प्रिमियम भुक्तानी गर्दा पाँच जनाका लागि सरकारले १ लाख रुपैयाँ बराबरको बिमा रकम भुक्तानी दिने गर्छ। पाँच जनाभन्दा बढी सदस्य रहेका साधारण परिवारको हकमा प्रतिसदस्य थप ७०० रुपैयाँ योगदान रकम बुझाउनुपर्छ। उपचार सुविधामा १ लाखमा २० हजारका दरले थप्दै प्रतिवर्ष अधिकतम २ लाखसम्मको उपचार सुविधा पाउने प्रावधान छ।

हालै अस्पताल निरीक्षणमा आएकी स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमलाई बिमाको रकम भुक्तानी उपलब्ध गराउन ज्ञापनपत्र बुझाइएको थियो।