नेप्से परिसूचक १९.८५ अंकको गिरावट, कारोबार रकम ९ अर्ब १० करोडमाथि

आइतबार नेप्से परिसूचक १९.८५ अंकले घटेर २,६९४.२० को बिन्दुमा कायम भएको छ भने ९ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक १९.८५ अंकले घटेर २,६९४.२० को बिन्दुमा कायम भएको हो।

नेप्सेका अनुसार यस दिन ३२९ कम्पनीको दुई करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर एक लाख १० हजार ७२८ पटक खरिद–बिक्री हुँदा नौ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन व्यापार समूहको उपसूचक ०.५५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेका छन्। बैंकिङ ०.४२, विकास बैंक ०.७५, वित्त ०.४४, होटल तथा पर्यटन १.७५, जलविद्युत् १.३६ र लगानी समूह ०.९६ प्रतिशतले घटेको छ।

त्यस्तै, जीवन बीमा ०.५२, उत्पादन तथा प्रशोधन ०.७६, लघुवित्त ०.५७, म्युचुअल फन्ड ०.५०, निर्जीवन बीमा ०.६३ र अन्य समूहको उपसूचक ०.९२ प्रतिशतले ओरालो लागेको छ।

यस दिन मिथिला लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ९.७० प्रतिशतले वृद्धि भएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा यस दिन सबैभन्दा बढी आँखुखोला जलविद्युत्को ५५ करोड ५२ लाख ४० हजार ७६१ रुपैयाँ बराबरको १७ लाख ४६ हजार ९२४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।