आइकम नेपालमा नयाँ कार्यसमिति चयन

रमेशप्रसाद दवाडीको अध्यक्षतामा ‘आइकम नेपाल’को नयाँ कार्यसमिति चयन भएको छ।

काठमाडौँ– अन्तर्राष्ट्रिय संग्रहालय परिषद् (आइकम)अन्तर्गतको राष्ट्रिय समिति ‘आइकम नेपाल’को नयाँ नेतृत्व चयन भएको छ। काठमाडौँमा सम्पन्न संस्थाको नवौँ वार्षिक साधारणसभाले रमेशप्रसाद दवाडीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो। नवनिर्वाचित समितिको सचिवमा ओमप्रकाश घिमिरे र कोषाध्यक्षमा सन्तबहादुर गुरुङ चयन भएका छन्।

समितिको सदस्यहरूमा डा. पशुपति न्यौपाने, रोशन मिश्र, शान्ता चौधरी, पवित्रा थपलिया, सन्तोषकुमार सुवेदी र ख्यामप्रसाद शिवाकोटी रहेका छन्। आगामी तीनवर्षे कार्यकालका लागि जिम्मेवारी सम्हालेको समितिले नेपालको संग्रहालय क्षेत्रलाई थप व्यवस्थित र व्यावसायिक बनाउने लक्ष्य राखेको छ।

नवनिर्वाचित सचिव घिमिरेले आगामी दिनमा विशेषगरी स्थानीयस्तरमा सञ्चालनमा रहेका साना संग्रहालयलाई निश्चित मापदण्ड र मानकका आधारमा सक्षम बनाउन पहल गरिने जानकारी दिए। उनका अनुसार ती संग्रहालयहरूको भौतिक र प्राविधिक पक्ष सुधार्दै स्तरवृद्धि गर्नु समितिको मुख्य प्राथमिकता रहनेछ।

नेपालमा संग्रहालय क्षेत्रको विकास, ज्ञान निर्माण, नीतिगत पैरवी र क्षमता अभिवृद्धिमा क्रियाशील आइकम नेपालमा हाल १९ वटा संग्रहालय संस्थागत सदस्य र ५१ जना व्यक्तिगत सदस्य आबद्ध छन्। आइकमका विश्वभर १२० भन्दा बढी देशमा राष्ट्रिय समिति सक्रिय छन्।