हुलाक भन्सारका अधिकृतसहित तीन कर्मचारी घुसको रकमसहित पक्राउ

अख्तियारले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका अधिकृतसहित तीन कर्मचारीलाई सेवाग्राहीसँग लिएको घुस रकम र २३ थान मोबाइलसहित डिल्लीबजारबाट पक्राउ गरेको छ।

काठमाडौँ– त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपानेसहित तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। 

कुरियरमार्फत विदेश सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा टंगालबाट खटिएको आयोगको टोलीले उनीहरूलाई गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा अधिकृत न्यौपानेसहित सोही कार्यालयका सहयोगी गणेशप्रसाद पुडासैनी र हुलाक सेवा विभाग गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाल रहेका छन्।

माघ १८ गते गरिएको उक्त कारबाहीका क्रममा कर्मचारीहरूको कार्यकक्ष र व्यक्तिगत खानतलासीबाट स्रोत नखुलेको नगद बरामद भएको हो। कार्यालय सहयोगी पुडासैनीको टेबुलबाट घुसबापतको १० हजार र थप ४० हजार ३५० रुपैयाँ फेला परेको थियो भने उनको साथबाट थप ९६ हजार ७० रुपैयाँ गरी कुल एक लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ। 

यस्तै, नायब सुब्बा रिजालको साथबाट घुसबापतको २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी कुल ३८ हजार ८४८ रुपैयाँ बरामद भएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार छापा मार्ने क्रममा टोलीले अन्य स्रोत नखुलेको रकमसहित कुल दुई लाख ६८ हजार २८८ रुपैयाँ र विभिन्न व्यक्तिहरूबाट संकलन गरिएका २३ थान मोबाइल सेटसमेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका कर्मचारीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।