सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, मालपोतका कर्मचारीसहित ३ जनाविरुद्ध मुद्दा

अख्तियारले महोत्तरीको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत कार्यालय जलेश्वरका कर्मचारीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठमाडौँ– मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा महोत्तरीको जलेश्वरस्थित मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा परमानन्द साहसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारको अनुसन्धानका क्रममा महोत्तरीको साबिक ईटहर्वाकट्टी–३ मा रहेको ५ कठ्ठा १२ धुर जग्गा (कित्ता नं. १२७) व्यक्तिको नाममा लगिएको खुलेको हो। सरकारी फिल्डबुकमा ‘पर्ती प्रमाणित’ र ‘पोखरी’ उल्लेख भएको यो जग्गालाई गैरकानूनी रूपमा राजीवकुमार ठाकुरको नाममा दर्ता गरी भ्रष्टाचार गरिएको आयोगको निष्कर्ष छ।

अनुसन्धानका अनुसार यो जग्गा कुन प्रक्रियाबाट ठाकुरको नाममा पुग्यो भन्ने कुनै आधार भेटिएको छैन। जग्गाधनी स्रेस्ताको कैफियतमा समेत विवरणहरू स्पष्ट छैनन्। कर्मचारीहरूले सरकारी ढड्डा (मोठ स्रेस्ता) मा अनधिकृत रूपमा केरमेट तथा थपघट गरेका थिए। उनीहरूले २०८० साउन ८ गते गैरकानूनी रूपमा कम्प्युटरमा विवरण प्रविष्ट गरी सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि भएको छ। सरकारले छुट जग्गा दर्ताको कुनै सूचनासमेत जारी नगरेको अवस्थामा कर्मचारी र जग्गाधनीले दूषित मनसायले यस्तो कार्य गरेको आयोगले जनाएको छ।

आयोगले मालपोत कार्यालय जलेश्वरका तत्कालीन नायब सुब्बा साहसहित कम्प्युटर अपरेटर रवीन्द्रकुमार सिंहविरुद्ध १७ लाख २५ हजार रुपैयाँ बिगो कायम गरेको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र जरिबानाको माग गरिएको छ। साथै, जग्गाधनी राजीवकुमार ठाकुरलाई पनि मुख्य अभियुक्तसरह नै सजाय र बिगो असुलको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।