निपाह भाइरसबारे बोल्यो स्वास्थ्य मन्त्रालय

नेपालमा हालसम्म निपाह भाइरसका घटना पुष्टि नभएको तथा स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतंकित नहुन सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी तथा दक्षिणपूर्वी एशिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्यांकन गरे पनि छिमेकी मुलुकमा देखिएका निपाह भाइरसका केही घटनालाई मध्यनजर गरी सचेतना अपनाइएको मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा पूर्वतयारीका कदम स्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायलाई सचेत गराइएको तथा निपाह भाइरसको परीक्षणका आवश्यक तयारी गरिएको स्पष्ट पारिएको छ।

निपाह भाइरस सङ्क्रमित चमेराको र्‍याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा संक्रमण हुनसक्ने, संक्रमित व्यक्तिको रगत थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेरोबाट सुँगुर हुँदै पनि मानिसमा यो संक्रमण सर्नसक्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सबैलाई फलफूल राम्ररी पखालेर मात्र खान, तरकारी राम्रोसँग पकाएर खान, सफा र सुरक्षित पानी उमालेर मात्र पिउन, जनावरका गोठ तथा फार्म सफा राख्न, मासु काट्दा पत्रा र मास्क प्रयोग गर्न, बेलाबेलामा साबुन पानीले हात धुन तथा भिडभाडमा जाँदा मास्क लगाउन अनुरोध गरेको छ।

ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, चकर लाग्ने, खोकी लाग्ने, सास फेर्न गाहो हुने, वाकवाकी लाग्ने, बान्ता हुने तथा गम्भीर अवस्थामा होस हराउने, अचेत हुनेलगायत लक्षण देखिएका बिरामीको शीघ्र पहिचान गर्न आइसोलेसनमा राखेर रिपोर्टिङ गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ। 

मन्त्रालयले हालसम्म नेपालमा निपाह भाइरसका घटना पुष्टि नभएका तथा स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार निकायसँग समन्वय गर्दै अवस्था निरन्तर अनुगमन गरिरहेकाले अफवाहमा नपर्न र मन्त्रालयद्वारा जारी आधिकारिक सूचनामात्र विश्वास गर्नसमेत अनुरोध गरेको छ।