स्कटल्यान्डको विशेष ढुंगाबाट खेलिने रणनीतिक खेल

१६औँ शताब्दीमा स्कटल्यान्डबाट शुरू भएको यो खेल त्यतिबेला हिउँदमा जमेका ताल र पोखरीमाथि ढुंगा चिप्ल्याएर खेल्ने गरिन्थ्यो।

काठमाडौँ– के तपाईंले आज गुगल सर्च गर्नुभयो? छैन भने आजको गुगल डुडल हेर्न र त्यसबारे जान्न छुट्न सक्छ। तर केही छैन हामी यसबारे तपाईंलाई बताउनेछौँ।

गुगलको दुई वटा ‘ओ’ अक्षरको ठाउँमा एक जना मान्छेले केही गतिविधि गरिरहेको देखिन्छ। के गरिरहेको होला त्यो मान्छेले भन्ने मनमा लाग्न सक्छ।

वास्तवमा, डुडलमा देखाइएको त्यो व्यक्ति खेलाडी हो, कर्लिङ खेलको। यो कुनै सामान्य नभएर ओलम्पिकमा खेलिने रणनीतिक खेल हो। आज गुगलले त्यही खेललाई सम्झाएको छ। अबको दुई दिनपछि (फेब्रुअरी ६) हुने शीतकालीन ओलम्पिकमा यही खेल मुख्य आकर्षण हुनेछ।

इटालीका दुई शहर मिलानो र कोर्टिनोमा हुने भएकाले यस ओलम्पिक समारोहलाई ‘मिलानो कोर्टिना २०२६’ नाम दिइएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अनुसार ९० देशका दुई हजार ९०० भन्दा बढी खेलाडीहरूले ११६ खेलहरूमा प्रतिस्पर्धा गर्नेछन्।

तीमध्ये एक कर्लिङ खेल पनि हो। कर्लिङलाई ‘बरफमा खेलिने चेस’ पनि भन्ने गरिन्छ। १६औँ शताब्दीमा स्कटल्यान्डबाट शुरू भएको यो खेल त्यतिबेला हिउँदमा जमेका ताल र पोखरीमाथि ढुंगा चिप्ल्याएर खेल्ने गरिन्थ्यो। पछि विस्तार हुँदै आज विश्वव्यापी रूपमा ओलम्पिकको एक आकर्षण बनेको छ।

null

कर्लिङको शुरूआत ओलम्पिकमा सन् १९२४ मा भएको थियो, तर यो पूर्णरूपमा आधिकारिक खेल सन् १९९८ मा मात्र बन्यो। मिश्रित डबल्स इभेन्ट भने सन् २०१८ मा थपियो, जसले खेललाई अझ रोमाञ्चक बनाएको छ।

क्यानडा यस खेलमा सबैभन्दा सफल राष्ट्र मानिन्छ, जसले ६ स्वर्णसहित ११ वटा पदक जितेको छ। अमेरिका र स्वीडेन पनि कडा प्रतिस्पर्धी हुन्।

कसरी खेलिन्छ यो खेल?
यो खेल दुई टिमबीच खेलिन्छ। ओलम्पिकमा पुरुष, महिला र मिश्रित डबल्स गरी तीन प्रकारका प्रतियोगिताहरू हुन्छन्। पुरुष र महिला कर्लिङतर्फ प्रत्येक टोलीमा चार/चार जना खेलाडी हुन्छन् भने मिश्रित डबल्सतर्फ एक महिला र एक पुरुष गरी जम्मा दुई खेलाडी हुन्छन्।

सामान्य भाषामा बुझ्दा बरफको मजबुत सतहमा भारिलो ढुंगा (स्टोन)लाई चिप्लाएर निश्चित विन्दुमा पुर्‍याउने खेल हो यो। गोलो आकारमा कुँदिएका स्टोनलाई ‘हाउस’ (केन्द्रको वृत्ताकार क्षेत्र) को बीचमा रहेको ‘बटन’ (केन्द्र) नजिक पुर्‍याइन्छ।

टेनिस खेल्ने ठाउँलाई कोर्ट भनेजस्तै कर्लिङ खेल्ने सतहलाई ‘सिट’ भनिन्छ, जुन बरफबाट बनाइएको हुन्छ। दक्ष प्राविधिकले विशेष प्रकारको बरफबाट यो सिट बनाउँछन्। सामान्यतया यस सिटको लम्बाइ १४६ देखि १५० फिट र चौडाइ १४.२ देखि १५.७ फिट हुन्छ। खेलाडीले बरफको त्यही सिटलाई स्वीप (झाड्नु) गर्दै स्टोनलाई अगाडि बढाउने प्रयास गर्छन्।

खेलाडीले स्टानेमाथि लगाइएको ‘ह्यान्डल’को मद्दतले स्टोनलाई धकेलेर अगाडि सराउँछन्। ‘हग लाइन’ (एक रेखा) छुनुअघि स्टोनलाई छोड्नुपर्छ। यदि ढिलो छोडियो भने स्टोन खेलबाट हटाइन्छ।

null

त्यसरी धकेलेर स्टोन फालेपछि टिमका साथीहरू स्वीपरले बरफमाथि रगड्छन्। यसले बरफको सतह सफा हुनुका साथै तात्छ र स्टोनलाई अझै लामो दुरी पार गर्न सहज हुन्छ। गुगल डुडलले यही चरणलाई देखाउन खोजेको छ। यसरी छोडिएको स्टोन ‘कर्ल’ (घुम्नु) गरेर अगाडि जान्छ, जसले यसलाई दायाँ/बायाँ मोड्छ।

यसमा रोचक त के हुन्छ भने, एक पक्षले स्वीप गरिरहँदा अर्को स्टोन छुन मिल्दैन। यदि आफ्नै स्टोन छोयो भने हटाइन्छ। प्रतिद्वन्द्वीको छोयो भने, जस्ताको तस्तै राख्ने वा हटाउने भनेर अम्पायरले निर्णय गर्छन्। यस खेलको प्रक्रिया र नियमबारे अझै विस्तृतमा बुझ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नसक्नुहुन्छ।

यसकारण रणनीतिक खेल
शारीरिक बलभन्दा दिमागी बल बढी लगाउनुपर्ने भएकाले यसलाई रणनीतिक खेल भनिन्छ। यसमा प्रत्येक स्टोन फाल्नुअघि सोचविचार, प्रतिद्वन्द्वीको कदम अन्दाज गर्ने र टिमवर्क चाहिन्छ।

खेलाडीहरूले स्टोनलाई हाउस नजिक पुर्‍याउनु पर्छ। तर, स्टोन कर्ल (घुम्छ) गर्छ, जसलाई स्विपिङ (झाड्ने) ले नियन्त्रण गरिन्छ। स्किप (कप्तान) ले स्टोनलाई ‘गार्ड’ राख्ने’ (रक्षा), ‘हिट’ गर्ने (प्रतिद्वन्द्वी हटाउने) वा ‘फ्रिज’ गर्ने (आफ्नो स्टोन नजिक राख्ने) जस्ता निर्णय निकै सोच विचारका साथ गर्नुपर्छ, नत्र एक गल्तीले सबै स्टोन गुम्न सक्छन्।

प्रत्येक बरफ सिट फरक हुन्छन्, खेल जसरी अघि बढ्छ बरफ बदलिन्छ। त्यतिबेला टिमले तुरुन्त रणनीति बदल्नुपर्छ। राम्रो स्विपिङले १–२ मिटर फरक पार्छ, जसले खेल जिताउँछ।

यस खेलका रणनीति र टेक्निकबारे थप बुझ्न यो लिंकमा क्लिक गर्न सक्नुहुन्छ।

स्कटल्यान्डको केज अफ स्कटल्यान्ड कम्पनीमा कर्लिङ स्टोन बनाइँदै।

विशेष ढुंगा
कर्लिङ खेलमा प्रयोग गरिने स्टोन विशेष प्रकारको ग्रेनाइटबाट बनेका हुन्छन्, जसलाई स्कटल्यान्डको आइल्सा क्रेग नामक सानो टापुबाट ल्याइन्छ। यी ढुंगाहरूको मुख्य विशेषता भनेको कडा, घना र चिसोमा अटुट रहने गुण हो। यिनीहरूले ठोक्किए पनि चिप्लिँदैनन् र बरफमा सही ‘कर्ल’ (घुम्ती) दिन्छन्। खेलमा प्रयोग गरिने ढुंगाको तौल ३८–४४ पाउन्डको हुन्छ। यसको अधिकतम परिधि ३६ इन्च, न्यूनतम उचाइ ४.५ इन्च हुन्छ।

आइस क्रेगको कमन ग्रीन ग्रेनाइट स्टोनको मुख्य भाग/स्ट्राइकिङ ब्यान्डमा प्रयोग हुन्छ भने ब्लु होन ग्रेनाइट स्टोनको तलपट्टीको रनिङ ब्यान्डमा प्रयोग हुन्छ। यी क्वाट्र्जरहित माइक्रोग्रेनाइट भएकाले ठोक्किँदा चिप्लिँदैनन् र पानी पनि सोस्दैनन्। विश्व कर्लिङ फेडेरेशनले कर्लिङ स्टोनको निर्माणको जिम्मा स्कटल्यान्डको केज अफ स्कटल्यान्ड कम्पनीलाई दिएको छ।