सडकले नजोडिएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्याक्टर

स्याकसम्म सडक भए पनि छेकम्पारसम्म स्कुटर ल्याउन सडक थिएन। न त उनलाई स्कुटर चलाउने सीप नै थियो।

गोरखा– केही दिनका लागि चीन सरकारले छेकम्पारमा पर्ने मुलाढाज्यान नाका खुल्ला गर्‍यो। एक वर्षदेखि बन्द रहेको नाका खुल्ला हुनासाथ छेकम्पारका बासिन्दा सरसामान किन्न तिब्बती बजार स्याक पुगे। त्यही टोलीमा थिए, छेकम गाउँका दोर्जे लामा। 

त्यहाँ उनले तिब्बती गाउँबस्तीका बासिन्दाको दिनचर्या नियाले। सबैजना यातायातका साधन प्रयोग गरेको देखेर उनी प्रभावित भए। “तिब्बत जाँदा त्यहाँ मान्छेहरू घाँस काट्न जान परे पनि, गोठमा जाँदा पनि, बाहिर फेर जताततै हिँड्दा पनि बाइक वा स्कुटर चलाएर हिँडेको देखेँ। यता पनि कसो नचल्ला त भनेर विचार गरेँ”, दोर्जे भन्छन्, “पसलमा गएर भाउ सोधेको एक लाखमा बिजुलीबाट चार्ज गर्न मिल्ने स्कुटर आउँदो रहेछ। अनि जसो होला होला, विचार गर्नुपर्‍यो भनेर एउटा किनेर ल्याएको हुँ।”

स्याकसम्म सडक भए पनि छेकम्पारसम्म स्कुटर ल्याउन सडक थिएन। न त उनलाई स्कुटर चलाउने सीप नै थियो। मान्छे, खच्चड, याक, चौँरी मात्र जसोतसो हिँड्न मिल्ने बाटोमा स्कुटर ल्याउन पनि उनले धेरै नै मेहनत गर्नुपर्‍यो। “उता (तिब्बत)बाट आउँदा उकालोमा हामी चार–पाँच जनाले बोक्यौँ, सजिलो बाटोमा कतै डोहोर्‍याउँदै, कतै एकजना चढ्ने, अरुले समात्ने गर्दै ल्याइपुर्‍यायौँ,” उनले भने, “ल्याउँदा ल्याउँदै बाटोमै स्कुटर चलाउन जान्ने भइयो।”

हिमालपारि छेकम्पारमा यसरी स्कुटर चलाउने लामा पहिलो व्यक्ति हुन्। अचेल उनी स्कुटर हाँकेर गाउँघर डुल्छन्। सडक सञ्जालले नछोएको चुमनुब्री–७ छेकम्पारको साँघुरो गल्लीमा दोर्जे चीनबाट ल्याएको स्कुटर हाँकेर हिँड्ने गर्छन्। 

घोडा चढेर गाउँघर, वनजंगल आवतजावत गर्ने छेकम्पारमा दोर्जे विद्युतीय स्कुटरमा सवार भएको देख्दा स्थानीय पनि प्रभावित छन्। ‘अहिले त मेरो मात्रै छ। सबैजनाले हामी पनि चढ्छौँ नि भनेर मागेर हैरान पार्छन्। चलाउन जान्दैनन्। बिर्गादिन्छन् झैँ लाग्छ,” दोर्जे भन्छन्, “अब आउँदो साल त अरुले पनि स्कुटर किन्ने भनेका छन्। अब गाउँमा सिँढी नबनाउने बरु स्कुटर चढ्ने सडक बनाउने निर्णय भइसक्यो।”

छेकम्पारकै लामा गाउँका पासाङ फुन्जो लामाले भने विगत एक दशकअघि गाउँमा ट्याक्टर भित्र्याएका थिए। लामा चुमनुब्री–७ का निवर्तमान वडाअध्यक्ष पनि हुन्। सडकले नछोएको छेकम्पारमा लामाले भूकम्पपछि २०७२ सालमा १८ लाख रुपैयाँ पर्ने ट्याक्टर ३४ लाख भाडा तिरेर हेलिकाप्टरमार्फत गाउँमा ल्याएका थिए। ट्याक्टरका लागि आवश्यक पर्ने इन्धन भने उनले आरुघाटको आर्खेतबाट खच्चडमार्फत ल्याउने गरेका छन्। 

पासाङको ट्याक्टरमा निर्माण सामग्री ढुवानी गरी लामा गाउँमा गुम्बा र विद्यालय निर्माण भएका छन्। ट्याक्टर भने स्थानीय साम्डु लामाले चलाउने गरेका छन्। ट्याक्टर छेकम्पारको उकालोओरालोमा सजिलै आवतजावत गर्ने गरेको पासाङको भनाइ छ। 

“यसबाट खासै आम्दानी त हुँदैन तर यहाँ पूर्वाधार निर्माणका काममा निकै सजिलो भएको छ,” उनले भने। छेकम्पारसम्म सडक आउला र नजिकका गाउँबस्तीमा पनि सजिलै ट्याक्टरमा सामान ढुवानी गर्न पाउँला भन्ने अपेक्षा पासाङफुन्जोलगायत सम्पूर्ण छेकम्पारवासीको छ।