तीन महिनामा १ लाख अफगान परिवार स्वदेश फिर्ता

अफगान आप्रवासीहरू घरफिर्तीको गति बढ्दै जाँदा, आप्रवासी अधिकारकर्मीले दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

तीन महिनामा १ लाख अफगान परिवार स्वदेश फिर्ता
यूएनएचसीआर

विगत तीन महिनामा इरान, टर्की र पाकिस्तानबाट करिब १ लाख परिवार अफगानिस्तान फर्केका छन्। फर्किनेमध्ये ८८ हजार भन्दा बढी परिवार पाकिस्तानबाट मात्रै फर्किएका छन्। 

हाल हरेक दिन औसत दुई हजार व्यक्ति अफगानिस्तानमा प्रवेश गरिरहेका टोलो न्युजले जनाएको छ । यसले अफगानिस्तानमा सीमापार फिर्तीको मात्रा र व्यवस्थापनमा दबाब बढेको जनाइएको छ। शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयले फर्केका मानिसलाई प्रदान गरिएको सहायताको रूपरेखा प्रस्तुत गरेको छ।

मन्त्रालयका प्रवक्ता अब्दुल मुत्तालिब हक्कानीले फर्किने आप्रवासीका लागि इस्लामिक इमिरेट्सले खाद्यान्न सहायता, स्वास्थ्य सेवा, निःशुल्क सिम कार्ड र अन्य सहयोग प्रदान गरेको बताए। 

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (यूएनएचसीआर) लाई उद्धृत गर्दै गत वर्ष लगभग १० लाख अफगान आप्रवासी पाकिस्तानबाट फर्किएको उल्लेख गरेको छ।

फिर्तीको गति बढ्दै जाँदा, आप्रवासी अधिकारकर्मीले अधिकारीलाई दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकता दिन आग्रह गरेका छन्। अली रेजा करीमीले निर्वासनका लागि चरणबद्ध दृष्टिकोण अपनाउन आह्वानसहित मानवीय संकट रोक्नका लागि छिमेकी देशबाट आप्रवासीको निष्कासन बिस्तारै र व्यवस्थित तरिकाले गरिनुपर्ने बताए। 

यसैबीच, पाकिस्तानबाट फर्केका धेरै व्यक्तिले पाकिस्तानी प्रहरीले गरेको दुर्व्यवहार, उत्पीडन र निरन्तर नजरबन्दबारे चिन्ता व्यक्त गरेका छन्। यूएनएचसीआरका एक प्रतिनिधिलाई उद्धृत गर्दै टोलो न्युजले सन् १०२३ डिसेम्बरदेखि ४८ लाखभन्दा बढी अफगान आप्रवासी घर फर्केको जनाएको छ। (रासस/एएनआई)