फरार कैदी र लुटिएका हातहतियार फिर्ता नहुँदा निर्वाचनको सुरक्षामा सांसदको आशंका

कारागारबाट फरार कैदी र लुटिएका हतियार अझै नियन्त्रणमा नआउँदा आगामी निर्वाचन भयरहित हुनेमा राष्ट्रियसभा सदस्यहरूले आशंका व्यक्त गरेका छन्।

काठमाडौँ– राष्ट्रियसभा सदस्यहरूले ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दी र लुटिएका हातहतियार अझै फेला नपर्नुले आगामी निर्वाचन भयरहित वातावरणमा हुनेमा आशंका व्यक्त गरेका छन्।

सभाको शुक्रबारको विशेष समयमा बोल्दै सांसद जयन्तीदेवी राईले भ्रष्टाचार अन्त्य र सुशासनजस्ता मुद्दा सम्बोधन नहुँदा युवाहरूको आन्दोलन भएको बताइन्। “जेनजी आन्दोलनकै आधारमा पुराना दलहरूको औचित्य समाप्त भयो भन्ने गलत भाष्य निर्माण गर्नु हुँदैन, तर सुरक्षा संवेदनशीलतामा ध्यान नदिँदा निष्पक्ष निर्वाचनमा चुनौती देखिएको छ,” उनले भनिन्।

सांसद रुक्मिणी कोइरालाले आन्दोलनका क्रममा भएको घुसपैठले गर्दा बालबालिका र सुरक्षाकर्मीको ज्यान गएको स्मरण गराउँदै आगामी फागुन २१ को निर्वाचन शान्तिपूर्ण हुनेमा ढुक्क हुने अवस्था नरहेको बताइन्। “अझै पनि कैदीहरू फरार छन् र हतियार लुटिएकै अवस्थामा छन्। यस्तोमा जनता कसरी आश्वस्त हुने?” उनले भने।

यसैगरी सांसद आनन्दप्रसाद ढुंगानाले आन्दोलनका जायज मागलाई कदर गर्दै निर्वाचन बिथोल्न खोज्ने तत्त्वहरूबाट सतर्क रहनुपर्नेमा जोड दिए।

अर्कातर्फ, सांसद मायाप्रसाद शर्माले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा पुनः स्थापनाको काम सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। “जनता अझै टहरामा कष्टपूर्ण जीवन बिताइरहेका छन्, तर बारम्बारको छलफलपछि पनि सरकारले ठोस पहलकदमी लिएको छैन,” उनले भने।

सांसद गंगाकुमारी बेलबासेले भने आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनलाई मुख्य चुनावी अजेन्डा बनाउनुपर्ने सुझाव दिइन्। उनले महँगी, सिन्डिकेट र बेरोजगारी अन्त्य गर्ने स्पष्ट मार्गचित्र घोषणापत्रमा आउनुपर्नेमा जोड दिइन्।