प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा रुपन्देही-३ का उम्मेदवार निष्कासित

प्रगतिशील लोकतान्त्रिक पार्टीले रुपन्देही–३ का उम्मेदवार गोविन्द काराखेतीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।

बुटवल— प्रगतिशील लोकतान्त्रिक पार्टीले रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टीको नीति र सिद्धान्त विपरीत गतिविधि गरेको प्रमाण फेला परेको जनाउँदै पार्टीको जिल्ला कार्यसमितिले उनलाई कारबाही गरेको हो।

उम्मेदवार चयन भएपछि उनले देखाएको व्यवहारलाई पार्टीले अनुशासनहीन र गैरजिम्मेवार ठहर गरेको छ। पार्टीका जिल्ला इन्चार्ज पंकज राई र संयोजक कृष्ण बन्जाडेद्वारा जारी विज्ञप्ति अनुसार, काराखेतीले पार्टीका नेताहरूसँग अनुचित रकम माग गरेको र आफ्नै श्रीमतीलाई अर्को दलबाट उम्मेदवार बनाएको आरोप लगाइएको छ। 

विज्ञप्तिमा भनिएको छ, “पार्टीबाट उम्मेदवार बनेपश्चात् पार्टीका विभिन्न नेताहरूसँग अनुचित रकमको माग गर्नु तथा तपाईंको श्रीमती जयन्ती काराखेतीलाई अर्को राजनीतिक पार्टीबाट समानुपातिक उम्मेदवार बनाउने जस्ता गम्भीर र आपत्तिजनक गतिविधि गरेको प्रमाण प्राप्त भएको छ।”

सोही कारण पार्टीले उनलाई तत्काल लागू हुने गरी सम्पूर्ण जिम्मेवारी र अधिकारबाट हटाउँदै साधारण सदस्यता खारेज गरेको हो। साथै, उनको प्रतिनिधिसभा सदस्यको उम्मेदवारीसमेत निष्क्रिय बनाउने प्रक्रिया अगाडि बढाइएको पार्टीले जनाएको छ। 

null