थामिएला बेनी–जोमसोम सडकको पहिरो?

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा पहिरो र कटानका कारण यहाँ नियमित यातायात सञ्चालनमा समस्या हुने गरेको छ।

म्याग्दी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना निर्माण थालिएको छ। 

बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले २५ करोडको लागतमा पहिरो र नदी कटान रोकथाम गरिने भएको हो। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत उक्त क्षेत्रमा पहिरो र कटानका कारण यहाँ नियमित यातायात सञ्चालनमा समस्या हुने गरेको छ। चालु आवमै सक्ने लक्ष्यसहित काम भइरहेको कार्यालयका सवइञ्जिनियर बहादुर शाहले बताए। 

रघुगंगा गाउँपालिका–२ तल्लो र माथिल्लो बैसरी, नागढुंगा, गुइठेभिर, खामभित्ता, लाटोखोला, रूपसे, सेतोखोला र लार्जुङ खण्डमा पहिरो तथा कटान रोकथाम योजना सञ्चालन भएको हो। रक एंकरिङ, पलम पर्खाल, बायो इञ्जिनियरिङ, थिडिमेस प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिने शाहको भनाइ छ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको खामभित्ता क्षेत्रको ३०० मिटर क्षेत्रमा पहिरो रोकथामका लागि ७ करोड रुपैयाँमा वाम्ती/कोण्डा/टिस्ता जेभीले ठेक्का पाएको छ। अन्नपूर्ण–३ कै गुइठेभिरमा ३०० मिटर दुरीको सडकको पहिरो रोकथामका लागि जीएसपीएल/बुद्धीसरा जेभीले ९ करोडमा ठेक्का सम्झौता गरेको छ। लाटोखोला, रूपसे, नागढुंगा, सेतोखोला खण्डको पहिरो रोकथामका लागि गजेन्द्र निर्माण सेवाले ७ करोड रुपैयाँमा ठेक्का पाएको छ। 

रुप्से खण्डमा १६० मिटर दुरीमा ढलान सकिएको छ। लाटोखोलामा रक एंकरिङ गरेर पहिरो रोकथाम र फराकिलो पार्ने काम अन्तिम चरणमा पुगेको छ। तल्लो र माथिल्लो बैसरीको पहिरो रोकथाम गर्न जीएसआई/हुटैराज जेभीले २ करोडमा ठेक्का लिएको छ। सडक मुनीको पहाडमा ड्रिलिङ गरेर रड राखी, कंक्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो। रक एंकरिङ गर्न फलामको रड राख्ने प्वाल बनाइएको छ। 

रक एंकरिङ गर्नुपर्ने ठाउँको ३.५ मिटर फराकिलो सडकमा हाल एकतर्फी मात्र सवारीसाधन चल्ने गर्छन्। यसलाई दुईतर्फी सवारीसाधन चल्ने बनाउन सातदेखि ८ मिटर फराकिलो बनाइएको हो। नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाउन लागिएको छ। 

अन्नपूर्ण गाउँपालिका–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पहिरो रोकथाम भएपछि सडकमा सवारीसाधन आवतजावत सहज र जोखिममा परेका बस्ती तथा सार्वजनिक संरचनाको संरक्षण हुने अपेक्षा गरिएको बताए।