भेनेजुएलामा आममाफी विधेयक विवादमा, समावेशी नभएको आरोप

विधेयकले राजनीतिक बन्दीलाई समेट्न नसकेको, क्षतिपूर्ति प्रदान गर्ने स्पष्ट संयन्त्र नराखेको तथा निर्वासनमा रहेका नागरिकको सुरक्षित स्वदेश फिर्तीको सुनिश्चितता नगरेको विपक्षीले आरोप लगाएका छन्।

भेनेजुएलामा आममाफी विधेयक विवादमा, समावेशी नभएको आरोप
रोयटर्स

भेनेजुएलामा २७ वर्ष लामो समाजवादी शासनकालका क्रममा पक्राउ परेका राजनीतिक बन्दीलाई लक्षित गरी ल्याइएको आममाफी विधेयकलाई लिएर तीव्र विवाद उत्पन्न भएको छ। 

देशको सबैभन्दा ठूलो विपक्षी गठबन्धनले प्रस्तावित कानूनमा गम्भीर कमजोरी रहेको आरोप लगाएको हो। शुक्रबार सार्वजनिक गरिएको विधेयकको नयाँ मस्यौदा अघिल्लो दिन सार्वजनिक गरिएको संस्करणको तुलनामा छोटो र सामान्य रहेको विपक्षीहरूको दाबी छ। 

विपक्षी गठबन्धनले जारी गरेको विज्ञप्तिमा यो विधेयकले नागरिक तथा सैनिक क्षेत्रका ठूलो संख्यामा रहेका राजनीतिक बन्दीलाई समेट्न नसकेको, पीडितका लागि क्षतिपूर्ति प्रदान गर्ने स्पष्ट संयन्त्र नराखेको तथा निर्वासनमा रहेका नागरिकको सुरक्षित स्वदेश फिर्तीको सुनिश्चितता नगरेको उल्लेख गरिएको छ।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भने उक्त विधेयकलाई राष्ट्रिय मेलमिलापको दिशामा ऐतिहासिक कदमको रूपमा चित्रण गरेकी छन्। पूर्व राष्ट्रपति निकोलस मादुरो सत्ताच्युत भएको करिब एक महिनापछि यो विधेयक अघि सारिएको हो।

डेल्सी रोड्रिगेजका दाजु तथा सत्तारूढ पक्षका प्रभावशाली नेताले यो कानूनले विगतका सबै राजनीतिक गल्ती सच्याउने दाबी गरे। दिवंगत नेता ह्युगो चाभेज र उनका उत्तराधिकारी मादुरोले अघि सारेको अमेरिका विरोधी समाजवादी विचारधाराका कमजोरी सुधार गरिने उनको भनाइ छ। 

संसद्ले आगामी मंगलबारसम्म यो विधेयक पारित गर्ने जनाइएको छ। “कानुन पारित हुने बित्तिकै सबै राजनीतिक बन्दी त्यही दिन रिहा गरिनेछन्,” उनले भने। राजनीतिक बन्दीका आफन्त संसद् परिसर वरिपरि जम्मा भई आफ्ना प्रियजनको रिहाइको माग गर्दै भावुक बनेका थिए। 

विश्लेषकहरूका अनुसार यदि यो आममाफी कानून संसद्‌बाट पारित भएमा भेनेजुएलाको राजनीतिक संक्रमण प्रक्रियामा महत्वपूर्ण मोड आउनेछ। यद्यपि विपक्षी पक्षले यसलाई अझ समावेशी र स्पष्ट बनाउन दबाब जारी राखेका छन्। (रासस/एएफपी)