बालेन शाहको घरमा चोरी गर्ने नख्खु कारागारबाट फरार कैदीसहित ३ जना पक्राउ

रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरमा चोरीको आरोपमा नख्खु कारागारबाट फरार कैदीसहित तीन जनालाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको छ।

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र (बालेन) शाहको घरमा भएको चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ। 

माघ १६ गते काठमाडौँ-४, चप्पल कारखानास्थित शाहको डेरामा भएको चोरीको अनुसन्धान गर्ने क्रममा प्रहरीले तीन जनालाई चोरीका सामानसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काठमाडौँका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोकका ४६ वर्षीय खिमबहादुर खड्का र डोटीका ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन्। पक्राउ परेकामध्ये मुख्य अभियुक्त राजवाहक जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएका कैदी रहेको प्रहरीले जनाएको छ।

यो गिरोहले शाहको घर मात्र नभई काठमाडौँका विभिन्न निर्माणाधीन भवन र घरहरूको ताल्चा फुटाई सुन, चाँदी, नगद तथा महँगा विद्युतीय सामग्री चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। अभियुक्तहरूको कोठाबाट म्याकबुक प्रो, डेल ल्यापटप, सीसीटीभी क्यामेरा, सुन-चाँदीका गहना र चोरीमा प्रयोग हुने औजारहरू बरामद गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध चोरी, बैंकिङ कसुर र जबरजस्ती करणी जस्ता पुराना मुद्दासमेत विचाराधीन छन्। काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।