फेक रेस्क्यू प्रकरण: सिद्धि अस्पतालका सञ्चालक डा. तिमिल्सिना पक्राउ

विदेशी पर्यटकको ‘फेक रेस्क्यू’ गरी बीमा रकम ठगी गरेको अभियोगमा सीआईबीले सिद्धि अन्तर्राष्ट्रिय अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ।

काठमाडौँ— नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘फेक रेस्क्यू’ (झुटा उद्धार) प्रकरणमा संलग्न रहेको अभियोगमा सिद्धि अन्तर्राष्ट्रिय अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ।

लाजिम्पाटस्थित अस्पतालका सञ्चालक तिमिल्सिनालाई हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा जाने विदेशी पर्यटकको नक्कली उद्धार गरी बीमा रकम ठगी गरेको आरोपमा आइतबार पक्राउ गरिएको हो।

ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार माउन्टेन रेस्क्यू सर्भिस, एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिससँगको मिलेमतोमा अस्पतालले नक्कली कागजात तयार पारेको अनुसन्धानबाट खुलेको छ। “पर्यटक बिरामी नै नभई हेलिकोप्टरमार्फत उद्धार गरेको नक्कली कागजात बनाएर बीमा रकम दाबी गर्ने गरिएको पाइएको छ,” प्रवक्ता श्रेष्ठले भने।

यसअघि पर्यटकको ‘फेक रेस्क्यू’ देखाएर करिब १९.६९ मिलियन अमेरिकी डलर बराबरको बीमा ठगी गरेको आरोपमा सीआईबीले तीनवटा कम्पनीका सञ्चालक र व्यवस्थापकसहित ६ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरूमा माउन्टेन रेस्क्यू सर्भिसका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रवीन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया तथा एभरेस्ट एक्सपेरियन्सका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी रहेका छन्।

सीआईबीका अनुसार यस प्रकारको ठगीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रको छविमा गम्भीर क्षति पुर्‍याएको छ। पक्राउ परेका डा. तिमिल्सिनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) र किर्तेसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।