डडेलधुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका र पाँचपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा कांग्रेसको विशेष महाधिवेशनपछि सार्वजनिक जीवनमा कतै देखिँदैनन्।
काठमाडौँ– आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले देशभर राजनीतिक माहोल तताइरहँदा नेपाली राजनीतिका एक शीर्ष नेता शेरबहादुर देउवा भने कतै दृश्यमा छैनन्। गत पुस अन्तिम सातासम्म उनी नेपाली कांग्रेसका सभापति थिए। उनको अनिच्छाका बाबजुद भएको विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेपछि र त्यहीअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति निर्वाचन आयोगले अद्यावधिक गरेपछि उनी एकाएक निर्वतमान कांग्रेस सभापतिमा रुपान्तरित भएका थिए।
२०४८ सालको निर्वाचनदेखि लगातार सातपटक डडेलधुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका देउवाको प्रभाव सुदूरपश्चिमभरि भएको मानिन्छ। तर यसपटक उनी उम्मेदवार छैनन्।
उम्मेदवारी नदिएपछि कांग्रेसका लागि मत माग्दै देउवा पार्टीका कार्यक्रममा सक्रिय पनि छैनन्। उनीसहित तत्कालीन संस्थापन पक्षले असहमति जनाएको र सहभागी नभएको विशेष महाधिवेशन (पुस २७–३०) ले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेदेखि नै देउवा वर्तमान नेतृत्वसँग टाढा छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई अद्यावधिक गरिदिएपछि आगामी आमनिर्वाचनमा थापा नेतृत्वले नै उम्मेदवार छनोट गरेको थियो।
यी सबै प्रक्रिया हुँदा देउवा न कुनै सार्वजनिक कार्यक्रममा देखिएका छन्, न सामाजिक सञ्जालमा निर्वाचनबारे धारणा राखेका छन्। उम्मेदवारको मनोनयन दर्ता हुनु एक दिनअघि, माघ ५ गते उनले पार्टी सभापतिकै हैसियतमा सोनाम ल्होसारको शुभकामना दिएका थिए। त्यसपछि उनको सामाजिक सञ्जालमा सार्वजनिक भएका पोष्टमा आफूलाई सभापतिका रुपमा उल्लेख गरेका छैनन्। देउवाको फेसबुक पेज र एक्समा भने पूर्वप्रधानमन्त्री र पार्टी सभापतिको परिचय यथावत् छ।
देउवाले यसपालि पनि डडेल्धुराबाट उम्मेदवार बन्ने आकांक्षा राखे पनि महाधिवेशनपछिको कांग्रेस नेतृत्वले उनलाई उम्मेदवार नबनाउने निर्णय गरेको थियो।तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि कांग्रेसमा भएको यस्तो फेरबदलपछि आफू उम्मेदवार नबन्ने घोषणा गरेका थिए। एक्कासि सभापति पद गुमेपछि र नयाँ नेतृत्वले उम्मेदवार नै बन्न नदिएपछि देउवाले पीडा भुल्न नसकेको उनलाई भेट्ने नेताहरू बताउँछन्।
“उहाँले अहिले पार्टीभित्रको विषय र निर्वाचनलाई लिएर केही संवाद नै गरिरहनुभएको छैन। भेट्ने मानिसलाई पनि केही समय दिएर सामान्य मात्र कुराकानी गर्नुहुन्छ,” केही दिनअघि उनलाई भेट्न पुगेका एक नेताले भने, “यत्रो राजनीतिक विरासत बोकेको व्यक्ति एकैपटक सत्ता र शक्तिबाहिर हुँदा केही दुःख र चोट परेको होला।”
नेतृत्व फेरिएसँगै यसपटकको निर्वाचनमा कांग्रेसले गठबन्धन गरेको छैन र १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएको छ। देउवा सभापति हुँदासम्म कांग्रेस र नेकपा एमालेबीच चुनावी तालमेलबारे नियमित छलफल भइरहेका थिए। कांग्रेस उम्मेदवारहरूले पनि निर्वाचनलाई लक्षित गर्दै घरदैलोलाई तीव्रता दिएका छन्।
“हामी चुनावमा होमिइसकेको बेला निवर्तमान सभापतिसहितका नेताहरू मौन बस्नु राम्रो मानिँदैन। उहाँहरूले पनि पार्टीको जीवनलाई ध्यानमा राखेर एकताको सन्देश दिन सके चुनावमा राम्रो प्रभाव पार्छ,” एक पदाधिकारी भन्छन्, “विधि र प्रक्रियाबाटै विशेष महाधिवेशन भएर नेतृत्व चयन भएको विषयलाई असहज मान्न भएन।”
निर्वाचनमा टिकट पाएका देउवा पक्षका उम्मेदवारले उनको साथ खोजिरहेको उनी निकट नेता मीन विश्वकर्मा बताउँछन्। उनीहरू देउवा निवास पुगेर भेटवार्ता गर्ने र आवश्यक सहयोगका लागि आग्रह गर्ने गरिरहेका छन्।
“साथीहरूले तपाईं नभई त हामी जित्दैनौँ, हिँडिदिनुपर्यो भन्नुभएको छ। सबैले आइदिन भनिरहनुभएको छ। उहाँले हिँड्ने कि के गर्ने निर्णय गर्नुभएको छैन। अलि पछि जान सक्नु हुन्छ,” उनले भने।
देउवा निर्वाचनअघि नै सर्वोच्च अदालतमा विचाराधीन रिट सुनुवाइ भएर आफ्नो पक्षमा फैसला भइहाल्छ कि भन्ने आशामा रहेको उनीनिकट स्रोत बताउँछ। कांग्रेसका नवनिर्वाचित पदाधिकारी अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि रिटलाई अग्राधिकार दिएको छ।
तर निर्वाचनअघि नै अदालतबाट कांग्रेसको विवाद निरुपण हुने सम्भावना कमै देखिन्छ। “उहाँले अदालतले आफ्नो पक्षमा फैसला दिइहाल्छ कि भनेर अहिले बोल्न हतार गर्नुभएको छैन। अब अन्तिम अवस्थामा अन्त कहीँ नगए पनि सुदूरपश्चिमसम्म भने जान सक्ने सम्भावना छ,” शुक्रबार उनलाई भेट्न पुगेका सुदूरपश्चिमका एक नेताले भने, “पूर्वसभापतिकै रुपमा चुनावी प्रचारमा जान खोजिरहनुभएको छैन।”
डडेलधुरा कांग्रेसका नेता भीमबहादुर साउद भने समय लागे पनि देउवा जिल्ला (डडेलधुरा) आउने दाबी गर्छन्। डडेलधुराबाट देउवानिकट नैनसिंह महर उम्मेदवार छन्। “उहाँको (देउवाको) कसैप्रति वैरभाव छैन। धेरै नबोल्नु भएको मात्र हो। सकारात्मक नै हुनुहुन्छ,” साउद भन्छन्, “उहाँले सबै कुरा नजिकबाट हेरिरहनुभएको छ। भेट्न आउनेलाई शुभकामना दिइरहनुभएको छ।”
निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई नै आधिकारिकता दिएपछि उम्मेदवारको मनोनयन दर्ता गर्नु एक दिनअघि पनि देउवा सभापति गगन थापाकै हस्ताक्षरको पत्रबाट अन्तिमपटक चुनाव लड्न चाहिरहेको स्रोतको भनाइ छ। तर सभापति थापासहितको नेतृत्वले त्यसलाई अस्वीकार गरेको थियो।
नेता मीन विश्वकर्मा विशेष महाधिवेशनबाट आएको नेतृत्वले पूर्वसभापति मौन बस्नु उपयुक्त हुन्छ भनेकाले पनि मौन बसेको हुन सक्ने बताउँछन्। “उहाँ मौन नबस्नु भनेको त अहिले भएका सबै अवैधानिक कामको विरोध नगर्नु हो नि त। उहाँले पार्टी ठीक भयो भनेर बोल्नु पर्यो। त्यो बोल्नु हुन्न। विशेष महाधिवेशन हो पनि भन्न मिलेन, त्यसले गरेको कुरा ठीक छ भनेर पनि मिलेन,” उनी भन्छन्, “उहाँले ठीक छैन भन्दा पार्टीलाई नोक्सान पुग्छ। त्यसो हुँदा नबोलेको नै राम्रो हो।”
तर देउवाले पार्टीको पक्षमा सन्देश भने दिइरहेको उनको बुझाइ छ। “हामी विषम परिस्थितिमा छौँ, यो परिस्थिति सधैँ रहँदैन। अहिले नै नकारात्मक भयौँ भने पार्टीले चुनाव हार्छ। सकारात्मक बनौँ, धैर्य गरौँ। चुनावमा मतदान गरौँ भनिरहनुभएको छ,” उनले भने।
कांग्रेस प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति देउवा कांग्रेसलाई विजय बनाउने दिशामा नै लागिरहेको आफूहरूको बुझाइ रहेको बताउँछन्। सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा सक्रिय नहुँदा कतिपयले शंका गरे पनि भावना र व्यवहारमा सहयोग प्राप्त भइरहेको उनको भनाइ छ।
“औपचारिक कार्यक्रम निर्वाचन आयोगले नै गर्न दिएको छैन भने, त्योभन्दा अघि नै उहाँलाई सहभागी बनाउने कुरा पनि होइन नि,” उनले भने, “पार्टीको भविष्य नै प्रधान हो भन्ने उहाँले पनि बुझ्नु भएकै छ। पार्टीमा अहिले कुनै विवाद छैन र चुनावमा जित हासिल गर्न सबै एकीकृत भएर लागिरहेका छौँ।”
निवर्तमान सभापति हरेक दृष्टिकोणले अग्रज र अनुभवी भएको भन्दै चालिसेले नयाँ नेतृत्वले अपनत्व लिने बताए। “कतिपय कुरा नेतृत्वमा आएपछि मात्र थाहा पाउने विषय हुन्छ। निवर्तमान नेतृत्वले कतिपय अनुभव हस्तान्तरण गर्नुपर्छ,” उनी भन्छन्, “दिनेले दिन पनि चाहनुपर्छ र लिनेले लिन पनि सक्नुपर्छ।”
राजनीतिक दल कुनै व्यक्ति वा दुईचार जनाको मात्र नभई लाखौँ कार्यकर्तासँग जोडिएको विषय भन्दै उनले नेतृत्व तहबाट वार्ता सम्वाद भइरहेको बताए। “निवर्तमान सभापतिले जे सन्देश र सुझाव दिनुपर्ने हो त्यो दिइरहनुभएकै छ भन्ने हाम्रो बुझाइ हो। चुपचाप बसेको भनेर बाहिर बढी प्रचार भयो,” उनले भने।
२०४८ वैशाख २९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि देउवा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए। त्यसपछि २०५१ कात्तिक २९ मा भएको मध्यावधि निर्वाचनमा पनि उनी डडेलधुराबाटै निर्वाचित भए।
सोही निर्वाचनपछि उनी पहिलोपटक प्रधानमन्त्री बनेका थिए। २०६४ सालमा देशैभर नेकपा माओवादीको लहर चलेको बेला होस् वा २०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा, देउवाले पराजय भोग्न परेन। अझ २०६४ सालको संविधानसभा निर्वाचनमा त उनी डडेलधुरा र कञ्चनपुर–४ गरी दुई स्थानबाट निर्वाचित भए। २०७० सालको निर्वाचनमा पनि डडेलधुरा र कैलाली–६ बाट निर्वाचित भएका थिए।
कांग्रेसको १३औँ र १४ औँ महाधिवेशनबाट दुई कार्यकाल पार्टी सभापति बनेका देउवा पाँचपटक प्रधानमन्त्री बनेका छन्। २०८१ असार १७ मा कांग्रेस र एमालेबीच सहमति भएर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा २०८४ सालको आम निर्वाचनअघि सरकारको नेतृत्व देउवाले गर्ने सहमति भएको थियो। यदी, गत भदौ २३ र २४ गते जेन–जी आन्दोलन नहुँदा र सहमति नियमित रुपले अघि बढ्दा देउवा छैटौँ पटक प्रधानमन्त्री बन्ने निश्चित थियो।
आन्दोलनपछि फेरिएको राजनीतिकै कारण फागुन २१ मा मध्यावधि निर्वाचन हुन लागेको हो। उक्त आन्दोलनपछि पार्टीभित्र पनि नेतृत्व हस्तान्तरणको विषयले प्राथमिकता पाउँदा नियमित महाधिवेशन नगरेर वैशाखमा सारेपछि महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गरेका थिए। विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि देउवा कतै कुनै भूमिकामा देखिन छाडेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
