रमेश लेखक उर्फ ‘शहाब जाफरी रिभिजिटेड’

नेपो–बेबी बुझ्न शितलनिवास धाए हुन्छ, जहाँ राष्ट्रपति पिताकी एउटी छोरी ‘प्रिन्सिपल प्राइभेट सेक्रेटरी टु द प्रेसिडेन्ट’ छन् र, अर्की कांग्रेसको समानुपातिक उम्मेदवार।

काठमाडौँ– भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको प्रलयकारी क्षणपछि नेपाली कांग्रेसको कार्यवाहक सभापति भएका पूर्णबहादुर खड्काले गरेको एउटै साहसिक निर्णय र आदेश थियो— “घर फिर्ता बोलाइएका कांग्रेसी कोटाका राजदूतले स्वैच्छिक राजीनामा दिँदै–नदिनू।”

कार्यसम्पादनमा फितलो र आर्थिक अपचलनको आशंकामा समेत तानिएर फिर्ता बोलाइएका ११ मध्ये एमाले कोटाका तथा पूर्व मुख्यसचिव, सचिवसहित ६ जनाले राजीनामा दिइसक्दा पनि कांग्रेस लाहाछापका पाँच भने अझै परराष्ट्र मन्त्रालयको ‘एम्बेसडर्स रुम’को हाजिरी बहीखाता पल्टाइरहेकै छन्। मानौँ— यी महामहिम कुनै कार्यालयको जगेडा समूहमा राखिएका कर्मचारी हुन् र कहिले आफूमाथिको कारबाही माफी होला भनेर ढुकिबसेका छन्। मुद्दा अदालतमा छ, राजनीतिक नियुक्तिको सदर–बदर यिनले पर्खिबसेका छन्। तर नैतिकता नि, कहाँ छ? थाहा छैन। 

बरु कात्तिक २० यताको हिसाबमा घरफिर्ती भएर परराष्ट्रमा हाजिरी जनाइरहेका यी महामहिमले विशिष्ट सरहको मासिक तनखा ७२ हजार रुपैयाँ(प्लस) भने थाप्न भ्याएका छन्। ३० दिनभन्दा लामो समय नेपालमा अड्किएका कारण मासिक वैदेशिक भत्ता भने नआउने स्थिती रहेछ। यो भने बरु निराशाको सूचकांक हो। यद्यपि नैतिकताभन्दा माथिको हालको उपलब्धि भनेको यही हो। कांग्रेस दलको उपलब्धिमा यो पनि गणना होला नै। 

जेन–जी आन्दोलनपछि कांग्रेसको अर्को उपलब्धि, उक्त आन्दोलनमा प्रत्यक्ष/परोक्ष भागीदार भइकन पनि आफूलाई पानी माथिको ओभानो भन्दै बयान दिने तत्कालीन गृहमन्त्री रमेश लेखकको वाकपटुताको पनि अहिले वाहवाही छाएको छ। आफ्ना घर जलेको र अक्सिजन नपाएरै आमाको निधन भएको बयानमा जति गहिरो संवेदना (भावुकता) छ, त्योभन्दा बढी आन्दोलनपछि नेता लेखक आफै ‘शहाब जाफरी’ बनेर ख्यातीनामा बनेका छन्। उनको चर्चित छाया–छवि बनेको छ— ‘तु इधरउधरकी ना बात कर, ये बता कि बच्चोंको गोली क्यों मारा?’

नभुलौँ, यो पनि नेपाली कांग्रेसको मुहार–चित्र हो। घटनाको तीन महिनापछि त्यो पनि छानबिन आयोगमा जानैपर्ने भएपछि बाध्यकारी अवस्थामा गरिएको नैतिकताको बयान! सेलाएको, बिलाएको, ओइलाएको यो कस्तो नैतिकता?

रमेश लेखक उर्फ ‘शहाब जाफरी रिभिजिटेड!’

⁎⁎⁎

नेपाली कांग्रेस सधैँ विरासत र इतिहासको कुरा गर्छ। त्यसमा पनि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको कुरा सुन्ने हो भने धेरै कुरा ‘हो कि झैँ’ लाग्छ। बीपीको योगदान, राष्ट्रिय मेलमिलाप, किसुनजी–गणेशमानका योगदानका अनेक कथाहरू। तर, यो संकटको घडीमा, कांग्रेसको अस्तित्व र पहिचानका अनेक मुद्दा अघि बढिरहेका बेला वा अन्तिम घडीमा पनि समानुपातिकतर्फ बन्द सूचीको नामावली बुझाउन सकस परेपछि महामन्त्रीद्वय कता छन्, कहाँ छन्? निर्वाचन, संसद् पुनर्स्थापना वा महाधिवेशन के चाहिने हो भन्ने अन्योलका माझ कांग्रेस कहाँ छ? भनेर कांग्रेसकै पूर्वमन्त्री एवं पूर्वराजदूत दीपकुमार उपाध्यायले पनि प्रश्न गरिसकेका छन्, रमिते बनेको छ कांग्रेस। 

बीभत्स हत्याकाण्डका नाइके आफतव आलमको निधनमा तीन दिन पार्टीको झन्डा झुकाउने तथा राष्ट्रद्रोही अपराधमा पुर्पक्ष थुनामा बसीवरी धरौटीमा रिहा भएका बालकृष्ण खाँणलाई चुनावमा उठ्न सक्ने हैसियत दिलाउने कांग्रेससँग सोध्नुपर्ने अनेक प्रश्न थाती छन्। भ्रष्टाचार कर्मका अभियन्ता खुमबहादुर खड्काको सालिक अनावरण र माल्यार्पणको कीर्तिमान त छँदै छ। तर चुनावी माहोल अगाडी कतिपय प्रश्न नसोधेकै राम्रो! अहँ, माहोल बिगार्न मिल्दैन। नक्कली भुटानी शरणार्थी प्रकरणमा जेजति तारो र भयको पारो तेर्सिएको छ, त्यो खाँणतिरै छ भन्ने कटु–सत्य सम्झाइरहनुपर्छ भन्ने लाग्दैन। तैपनि समानुपातिक बन्द सूचीसम्म आइपुग्दा उनै खाँण, श्रीमती मञ्जु खाँड र श्रीमती देउवा–राणाकै अन्तिम निर्णय पर्खनुपर्ने हो भने के कांग्रेस? कुन कांग्रेस? कस्तो कांग्रेस? 

कांग्रेससँग जोडिएका पात्र–प्रवृत्ति पनि अहिले रमाइलो लाग्ने घुम्तीमा उभिएका छन्। जस्तो: कांग्रेस कोटाका दिल्लीस्थित राजदूत डा. शंकर शर्मा। उनी कात्तिकबाट घर फर्कनुपर्ने राजदूतको सूचीमा तानिएका थिए। तर अन्तिम घडीमा मात्रै थामिए। त्यो पनि के, कसरी भन्ने अन्तर्य उनैलाई थाहा होला वा बालुवाटार प्रशासन संयन्त्रलाई। अन्तिम घडीमा थमौतीमा परेका महामहिम डा. शर्मा आज दिल्ली दूतावासभित्रै २७ मिनेट ३ सेकेन्ड उत्तानेटाङ योगा (अपवार्ड लोटस पोज योगा) गर्ने कालिकोटे विजय शाहीलाई अभिनन्दन गर्नमा व्यस्त छन्। मुखेन्जी आएको निर्वाचनमा भारतीय सद्भाव र दृष्टिको आकलन गर्ने प्राथमिकता परै जाओस्, सहयोग–सद्भाव वा ईपीजी र द्विपक्षीय टकरावका अनेक आयाम भर्सेलामा जाउन्— महामहिम भने योगाका प्रयोक्ता शाहीको अभिनन्दनमा लागेका छन् दूतावासभित्रै। 

यो पनि कांग्रेसले देखाउन र जताउन मिल्ने अर्को उपलब्धि हो।

⁎⁎⁎

निर्वाचनको मुखैमा रवि–बालेन–कुलमानको मिलाप देखेपछि वा त्यसअघि नै एक वा अर्को रूपमा कांग्रेस ऐठनको अवस्थामा गएको हो कि झैँ लाग्न थालेको छ। महामन्त्रीहरू थापा र शर्माले आसन्न निर्वाचनमा भाग नलिने कारण यो हो वा त्यो हो, खुट्याउन गाह्रै छ। कि, रवि–बालेन–कुलमानको आलाप–प्रलापपछि जोडिएको यो हतास मनोदशा हो? महाधिवेशन हुने वा नहुने मात्रै कारणले यत्रो ठूलो निर्णय आएको होला त? शंशय यथावत् छ।

निर्वाचन आयोगमा समानुपातिकको अन्तिम बन्द सूचीमा नाम थपिँदै गर्दाको अन्तिम घडीमा मंगलबार अपराह्न मात्रै विचित्रलाग्दा नामबारे सुन्ने मौका मिल्यो— सर्वश्री अर्जुननरसिंह केसी, डा. चन्द्रमोहन यादव, संज्ञा पोखरेल र रिना उप्रेती।  

कांग्रेसले समानुपातिक सूचीमा नयाँ अनुहारलाई मात्रै मौका दिने निर्णय सुनाइरहेका बेला लगातार साढे तीन दशकदेखि एकछत्र छाइरहेका अर्जुनकै नाम सुन्नुपरेको छ भने योभन्दा बितरागी तिथि के पो होला? अझ पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा.चन्द्रमोहन, राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल र पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमती रिना उप्रेती पनि विगतमा चलेको ‘नेपो–बेबी’को प्रभावलाई मिचेर समानुपातिकमा आइसकेका छन्। राष्ट्रपति पौडेलकी अर्की छोरी अवज्ञा ‘प्रिन्सिपल प्राइभेट सेक्रेटरी टु द प्रेसिडेन्ट’ छँदै छन्। जेन–जी आन्दोलन सकियो, तर ‘नेपो–बेबी’ सकिएको छैन।  

आफू अब उप्रान्त चुनाव नउठ्ने भनेर स्याबासी पाइरहेका उनै अर्जुनरसिंह नातावाद–कृपावादको ‘चेन अफ कमान्ड’मा फेरि पनि जोडिएकै हुन्? पाँच पटक मन्त्री भइसकेका र अरू उपलब्धिभन्दा परिवार–वंशवाद राजनीतिका मियो भनेर चिनिएका अर्जुननरसिंहलाई ८० छेकको उमेरमा समानुपातिकमा जोडिनैपर्ने अपहत्ते किन थियो?  यो हत्तपत्त जवाफ नआउने प्रश्न हो।

निराशा र चरम विद्रोहको घडीमा जिल्लाहरूबाट उही तथा उस्तै रितमा उनै बालकृष्ण खाँण, आरजु देउवा वा शेरबहादुर देउवाकै नाम चुनावी स्पर्धाको प्रत्याशी नामांकनमा थपिएर आउँछ भने योभन्दा निराशाको अर्को कारण के हुन सक्ला? अघि घरफिर्ती राजदूतहरूमा नैतिकताको प्रश्न उठाएझैँ देउवा प्रवृत्तिमा यो प्रश्न उठाउन मिल्छ कि मिल्दैन?

योभन्दा पनि अघि बढेर सहमहामन्त्री किशोरसिंह राठौरले दिएको मन्तव्य सबैभन्दा मननीय देखिएको छ। जहाँ उनले कांग्रेससहितका दलले लामो समय सरकार चलाएर विकास गरे पनि भ्रष्टाचार नियन्त्रण गर्न नसकेको अनौठो आत्मस्वीकृति खुलाएका छन्। रवि–बालेन–कुलमान मिलापपछि उनको भनाइ आएको छ, “यी नयाँ पार्टी कुरा ठूला गर्छन्, चर्काचर्का कुरा गर्छन्। १० वर्ष पार्टी चलाएर देखाउन्। त्यसपछि कुरा गरौँला। सबैले राजनीति गर्न पाउने अवस्था सिर्जना गर्न नै हामीले यति लामो संघर्ष गरेका हौँ। हामीले विकास, जनतालाई अधिकार दियौँ। भ्रष्टाचार नियन्त्रण मात्रै हामीले गर्न सकेका छैनौँ। भ्रष्टाचार नियन्त्रण अहिले पनि हुन सकेको छैन।”

हो, कुराको चुरो नै यही हो। कांग्रेस, एमाले वा माओवादीले सबै कुरा गरे। गिरीबन्धुदेखि नक्कली नक्कली भुटानी शरणार्थी प्रकरणसम्म, माओवादी लडाकु भत्तादेखि टेरामक्स र ओम्नी वा प्रभु बैंकसम्म जे गर्नु गरे। पोखरा विमानस्थलदेखि भैरहवा र नलिन्चोक हेलिप्याडसम्म अनेकौँ किर्ते गरे। तर, यथार्थमा गर्न नसकेकै भ्रष्टाचार नियन्त्रण हो, दिन नसकेकै सुशासन हो। यसैको परिणतिमा जेन–जी विद्रोहदेखि वा अहिलेको चुनावी सरकारसम्मको हेराफेरि आइपरेको हो, यो कुनै नियमित आकस्मिकता होइन। बरु अनियमित आकस्मिकता हो।  

भुलचुकमा सहमहामन्त्री राठौरले जे भनेका छन्, सत्य भनेका छन्। सबै कुरा गर्न सकियो, तर भ्रष्टाचार रोक्न सकिएन। धेरै कर्तुत गरियो तर, सुशासन दिन सकिएन। हो, यही कुरोलाई कवि वैरागी काइँलाले उहिल्यै भनेका रहेछन्, कवितामा:

मेरो हत्केलामा 
थोपा रगतको यौटा क्षण, यो 
समयको यस घुम्तीमा यौटा ढुंगा, बगरमा 
फेदांवाले भविष्यको चल्ला मन्साएर छर्केको, 
बोकेर–कटकटिएको रगत
निधारमा
दुई चार थोपा
शहीदको 
झोँक चल्दछ
तर बस, झोँक चल्दछ।