गोदावरीका करार इन्जिनियर विष्टविरुद्ध करिब दुई करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका करार इन्जिनियर सुवास विष्टविरुद्ध १ करोड ९७ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौँ– ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत करार इन्जिनियर सुवास विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्वाभाविक सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। सेवामा प्रवेश गरेको छोटो अवधिमै आफ्नो वैध आयको तुलनामा झन्डै दुई करोड रुपैयाँ बढी सम्पत्ति जोडेको भेटिएपछि अख्तियारले विष्टविरुद्ध भ्रष्टाचारको मुद्दा चलाएको हो।

अख्तियारले विष्टको २०७६ फागुन १ देखि २०८१ साउन १४ गतेसम्मको सम्पत्ति जाँचबुझ गर्दा उनको खर्च र लगानीको तुलनामा आम्दानीको स्रोत नमिलेको फेला पारेको छ। अनुसन्धानका क्रममा विष्टले पारिश्रमिक, भत्ता, श्रीमतीको बचत र शेयर बिक्रीबाट कुल एक करोड २७ लाख ७४ हजार ६७३ रुपैयाँ वैधानिक रूपमा आर्जन गरेको देखिएको छ। तर, सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, शेयर लगानी र छोराको अध्ययनमा तीन करोड २४ लाख ८४ हजार ८३० रुपैयाँ खर्च गरेको पाइएको छ। यसरी उनको वैध आय र कुल खर्चबीच एक करोड ९७ लाख १० हजार १५७ रुपैयाँको अन्तर देखिएको र उक्त रकमको स्रोत नखुलेको अख्तियारको दाबी छ।

आफ्नो पदीय मर्यादाविपरीत गैरकानूनी सम्पत्ति आर्जन गरी अस्वाभाविक जीवनस्तर बिताएको पुष्टि भएको भन्दै अख्तियारले विष्टविरुद्ध एक करोड ९७ लाख १० हजार १५७ रुपैयाँ बिगो मागदाबी गरेको छ। उनलाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र बिगो बमोजिमको जरिबानासमेत माग गरिएको छ। विष्टले आयोगमा बुझाएको सम्पत्ति विवरणमा समेत तथ्य लुकाएर झुट्टा विवरण पेश गरेकाले उनलाई थप सजायको मागदाबी गरिएको छ।

यसबाहेक, विष्टले आर्जन गरेको अवैध सम्पत्ति बुवा सुदर्शन विष्टको नाममा समेत राखेको पाइएपछि उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनका बुवालाई पनि प्रतिवादी बनाइएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।