आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको जनाएको छ।

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको जनाएको छ। साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ।

आज दिउँसो देशका उच्च पहाडी र हिमाली भागमा साधारणतया बदली हुनेछ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

त्यसैगरी, राति तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागको मौसम मुख्यतया सफा रहने छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।