दैनिक १५ लाख मतपत्र छपाइ, बिहीबारदेखि दुर्गममा वितरण थालिने

उम्मेदवारको संख्याअनुसार मतपत्रको आकार फरक-फरक हुने भएकाले छपाइमा केही समय लागेको जनक शिक्षा सामग्री केन्द्रको भनाइ छ।

भक्तपुर– जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ कार्यलाई तीव्र पारेको छ। केन्द्रले हाल दैनिक १५ लाखका दरले मतपत्र छापिरहेको छ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख थान मतपत्र छाप्नुपर्नेमा बुधबार बिहानसम्म एक करोड ५३ लाख थान छपाइ सम्पन्न भइसकेको छ। “प्रत्यक्षतर्फ अब करिब ५० लाख मतपत्र छाप्न बाँकी छ,” पौडेलले भने, “शुक्रबार साँझसम्म र ढिलोमा शनिबारसम्म सबै छपाइ कार्य सम्पन्न गर्ने लक्ष्यका साथ जनशक्ति परिचालन गरिएको छ।”

समानुपातिकतर्फको दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ र प्याकिङ सकेर केन्द्रले प्रत्यक्षतर्फको काम थालेको हो। उम्मेदवारको संख्याअनुसार मतपत्रको आकार फरक-फरक हुने भएकाले छपाइमा केही समय लागेको केन्द्रको भनाइ छ। यसअघि नै १० लाख थान नम‍ूना मतपत्र भने निर्वाचन आयोगले विभिन्न स्थानमा पुर्‍याइसकेको छ।

छपाइ सम्पन्न भएका मतपत्रहरू बिहीबारदेखि जिल्लाहरूमा पठाउन शुरू गरिनेछ। प्रबन्ध सञ्चालक पौडेलका अनुसार सुरुमा दुर्गम क्षेत्रमा मतपत्र पठाइनेछ भने आगामी फागुन १० देखि १२ गतेभित्र देशका ७७ वटै जिल्लामा मतपत्र पुर्‍याइसक्ने कार्यतालिका रहेको छ।