सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न यातायात व्यवसायीको माग

रामेछाप र बैतडीमा भएका दुर्घटनामा २५ जनाको मृत्यु भएपछि यातायात व्यवसायी महासंघले घटनाको छानबिन र पुराना प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

रामेछापमा दुर्घटनाग्रस्त बस।

काठमाडौँ– देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ। महासंघका कार्यवाहक महासचिव पुरुषोत्तम सिम्खडाले बुधबार विज्ञप्ति जारी गरी एक साताभित्र भएका दुई ठूला दुर्घटनामा दर्जनौँले ज्यान गुमाउनुपरेको भन्दै ध्यानाकर्षण गराएका हुन्।

माघ २७ गते काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको पूर्व अरनिको यातायातको बस रामेछापमा दुर्घटना हुँदा १२ जना र माघ २२ गते बैतडीको पुर्चौडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ यात्रु घाइते भएका थिए। महासंघले दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकको चीरशान्तिको कामना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। 

कार्यवाहक महासचिव सिम्खडाले देशभर भएका सडक दुर्घटनाको सत्यतथ्य छानबिन गरी सम्बन्धित पक्षलाई तत्काल राहत एवं उद्धारको व्यवस्था गर्न सरकारसँग माग गरे।  सडक दुर्घटनापश्चात् सरकारद्वारा गठित सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनलगायत विभिन्न समयमा बनेका छानबिन प्रतिवेदनहरू कार्यान्वयन नहुँदा दुर्घटनाको जोखिम बढ्दै गइरहेकाले ती प्रतिवेदन तत्काल कार्यान्वयनका लागि समेत महासंघले अनुरोध गरेको छ।

महासंघले सिट क्षमताभन्दा बढी यात्रु नबोक्न र टिकट काट्दा अनिवार्य रूपमा पहिचान खुल्ने प्रमाण, नाम र सम्पर्क नम्बर उल्लेख गरी दैनिक रेकर्ड अद्यावधिक गर्न सबैमा आग्रह गरेको छ। महासंघले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा हिमाली, पहाडी तथा ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दा कसैको प्रलोभनमा नपरी सिट क्षमताअनुसार मात्र यात्रु राखी सेवा सञ्चालन गर्न पनि अनुरोध गरेको छ।