हरेक शनिबार हाँडीगाउँ र टोखामा हुने सडक नेवाः खाजा महोत्सवले स्थानीय महिलामा उद्यमशीलताको नयाँ बाटोसँगै नयाँ परिचय मात्र दिएको छैन, आर्थिक स्वतन्त्रतामा पनि टेवा पुर्याएको छ।
काठमाडौँ– आँखामा गाजल, ओठमा रातो लिपिस्टक र गलामा तायो लगाएकी महिलाले हातमा क्यालकुलेटर लिएकी छन्। पहिरनले नै भन्छ, उनी नेवारी महिला हुन्।
“एउटा खाजा सेट, एउटा योमरी अनि एक ग्लास छ्याङ... तपाईंको २९० रूपैँया भयो,” उनले ग्राहकलाई हिसाब सुनाइन्।
काउन्टरमा बसेर खानपिनको खर्च राख्ने जिम्मेवारी उनैको हो भन्ने तायोसँगै उनको गलामा झुण्डिएको परिचय पत्रले बताइरहेको थियो। उनी हुन् टोखा कि रजनी डंगोल।

हरेक शनिबार टोखा नगरपालिकास्थित टोखा बजारमा सञ्चालन हुने सडक नेवाः खाजा महोत्सवको यो एउटा दृष्य हो। सडक नेवाः खाजा महोत्सवमा स्थानीय महिलाले उद्यमशीलताको नयाँ बाटो मात्र भेटाएका छैनन्, आर्थिक स्वतन्त्रताको बाटो पनि पहिल्याउन थालेका छन्।
साप्ताहिक सडक नेवाः खाजा महोत्सवमा ३५२ महिलाले समूह बनाएर खाजा पसल चलाउँछन्। हरेक समूहको पालो १५ दिनमा आउँछ। पालो पर्ने दिन शुक्रबार साँझदेखि नै उनीहरू तयारीमा जुट्छन्। हाकुपटासीमा चिटिक्क सजिएर खाजा बनाउन र ग्राहकलाई सत्कार गर्न उनीहरू तल्लीन हुन्छन्।
डंगोलको समूहमा आठ महिला छन्। २०८१ असोज ११ गते विश्व पर्यटन दिवसबाट शुरू भएको महोत्सवमा रजनीको समूह भने तीन महिनापछि मात्र जोडिएको हो। आफ्नो टोलछिमेकमै भइरहेको महोत्सवमा पनि उनीहरू संकोच लागेर शुरूमै सहभागी भएनन्।
“चिनेजानेका दिदीबहिनीहरूले काम गर्न थाल्नुभएको देखेपछि हामीलाई पनि आँट आयो,” रजनी भन्छिन्, “शुरूमा प्रतिव्यक्ति २ हजारले हुने १६ हजार रूपैयाँबाट हामीले आफ्नो स्टल र खाजा परिकारको व्यवस्था गर्यौं।”
स्टल राखेर व्यवसाय थालेको पहिलो दिन कति तयारी गर्ने र कसरी बेच्ने भन्ने कुनै भेउ नपाएर अलमलिएको सम्झना अहिले पनि उनलाई छ। “कति बिक्री हुन्छ र कति बाँकी रहन्छ भन्ने अनुमान गर्न नसक्दा हामीले खानाका परिकार थोरै मात्र बनायौँ। को आउला, के खालान् भन्ने हुन्थ्यो,” उनले भनिन्।
दोस्रो हप्तापछि बिस्तारै ग्राहक बढ्न थाले, अनि संकोच पनि हराउन थाल्यो। सबै लगानी कटाउँदा एकजनाको भागमा १ देखि २ हजार रुपैयाँसम्म हातमा पर्ने गरेको छ। “नयाँ मानिसहरूसँग कुराकानीसमेत गर्न अप्ठ्यारो लाग्ने हामी अहिले त कारोबारका कुरा गर्छौं। हामीभित्र आत्मविश्वास बढेको छ,” उनले भनिन्।
एक वर्ष अघिसम्म रजनी र उनका साथीहरूको पहिचान गृहिणीमा सीमित थियो। त्योबेला उनको दैनिकी एकनासे हुन्थ्यो। अहिले शनिबार दिनभरि खाजा बनाउने र बेच्नेमा बित्छ, अरू दिन तयारीमा।
टोखाजस्तै हाँडीगाँउमा पनि सडक खाजा महोत्सव हुन्छ। यहाँ टोखाभन्दा एक वर्षअघि नै यो कार्यक्रम शुरू भएको हो। आफ्नै पसल सञ्चालन गरिरहेकी मिना प्रजापति पनि शनिबारे महोत्सवमा सरिक हुन्छिन्। यहाँ भने टोखामा जस्तो १५–१५ दिनको पालो कुर्नु पर्दैन।
लामो समयदेखि अरू नै व्यवसाय गर्दै आएकी मिनाले शनिबारको महोत्सवमा खाजा पसल चलाएपछि उनका भाउजू र आमाले पनि रोजगारी पाएका छन्। महोत्सवबाट भएको कमाइले व्यक्तिगत आवश्यकताका सामान किन्न, बालबच्चालाई खर्च दिन र घुम्न पुग्छ। “शनिबार एकदिन महोत्सवको लागि मेरो भाउजू र आमा आइतबारदेखि व्यस्त रहनुहुन्छ,” उनी भन्छिन्, “जाँड, रक्सी, चिउराका लागि हप्ता दिनदेखि नै तयारी गर्नु पर्छ। अन्य खाद्यान्न भने बजारमै किन्नु पर्छ।”

नेवार समुदायले परापूर्वदेखि व्यापारीको पहिचान बनाएको छ। यो समुदायको व्यापार कुनै समय तिब्बतको ल्हासासम्मै फैलिएको इतिहासविद् प्रकाशनमान श्रेष्ठ ‘साख्वा’ बताउँछन्। काठमाडौँको असनका साना खुद्रा पसलदेखि ठूला थोक पसल हुन् वा ल्हासामा हुने व्यापार, पुरुषकै बाहुल्यता हुन्थ्यो। उनी भन्छन्, “महिलाको काम पसल, बजारभन्दा पनि खेतीपाती र भान्सामा बढी थियो।”
उनका अनुसार, साँखुमा भने महिलाहरू लामो समयदेखि कृषि उत्पादन र बजारसँग जोडिएका थिए। यसको प्रमुख कारण ल्हासासँग साँखुको व्यापारिक सम्बन्ध थियो। साँखुलाई तिब्बतको ढोका भनिन्थ्यो। असनबाट तिब्बतका लागि निस्किएका व्यापारी पहिलो दिन यहाँसम्म आउँथे। केही भने दुईचार दिन अडिएर तयारी गर्थे।
तिब्बतमा व्यापार गर्ने साँखुका धेरै थिए। ल्हासामा व्यापार गर्न जाने पुरूष लामो समय बाहिर रहँदा खेतीपाती, खाद्यान्न उत्पादनदेखि बिक्री मात्र नभई कपडा बुन्ने, चिउरा कुट्ने काममा समेत महिला हुन्थे। श्रेष्ठ भन्छन्, “कात्तिकको नवमीमा साँखुको बज्रयोगिनी मन्दिरमा ठूलो मेला हुन्थ्यो। कुनै समय त्यसदिन ठूलो बजार लाग्थ्यो, जहाँ महिलाकै वर्चस्व हुन्थ्यो।”
साँखुबाहेक अन्तका महिला हाटबजारमा व्यवसाय गर्न गएको इतिहासमा आफूले नपढेको श्रेष्ठ बताउँछन्। अहिले भने महिला नयाँ शैलीमा उद्यमी हुन आइपुगेका छन्, जसको उदाहरण टोखा र हाँडीगाउँ हुन्।

नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठ बालबच्चा, घरायसी जिम्मेवारीका कारण महिलाको सीप, कला, क्षमता प्राथमिकतामा पर्न नसकिरहेको बताउँछिन्। “हाँडीगाउँ, टोखाजस्ता स्थानमा भइरहेका साना तथा मझौला प्रकृतिका व्यवसाय महिलालाई बिस्तारै उद्यममा ल्याउने अनौपचारिक अर्थ व्यवस्था हो,” उनी भन्छिन्, “ठूलो लगानी र पूँजीबाट एकैपटक प्रतिस्पर्धात्मक बजारमा ल्याउनुभन्दा सानो बजारमा आफूजस्तै दिदीबहिनीसँगै सिक्दै, बुझ्दै लाग्नु महिलाको उद्यमशीलता तर्फको यात्रामा पहिलो कदम हो।”
व्यवसायमा वस्तु उत्पादन, उत्पादनका लागि आवश्यक प्रक्रिया, ग्राहकसँगको साक्षात्कार, पूँजी, लेनदेनको सिकाइ हुने हुँदा यी महोत्सवबाट क्षमता विकास हुने श्रेष्ठको भनाइ छ। यस्ता योजनालाई औपचारिक उद्यममा रूपान्तरण गर्न सम्बन्धित निकायसँग महिला उद्यमी महासंघ सहकार्यका लागि तयार रहेको पनि उनले बताइन्।
स्थानीय कृषि उत्पादनले पाएको बजार
टोखामा उमेरले ६०/६५ वर्ष नाघेका महिला पनि ओखलमा चिउरा कुटिरहेका हुन्छन्। यो परम्परागत शैलीमा चिउरा कुट्ने विधि हो। झट्ट हेर्दा महोत्सवमा देखाउनका लागि मात्र चिउरा कुटेको हो कि जस्तो लाग्छ। तर यसरी कुटिएको चिउरा सोही महोत्सवमा बिक्री हुन्छ।
टोखा क्षेत्रमै फलाइएको धानबाट चिउरा बनाइन्छ। खेतबारीमा उब्जाउने धान, गहुँ, बोडी, मास घरायसी खपतपछि महोत्सवमा परिकार बनाइने लोफर कृषक महिला समूहकी सदस्य कृष्णदेवी श्रेष्ठ बताउँछिन्। “खेतबारीमा उब्जनी भएका धान, गहुँ, भटमासलगायत अन्न बेच्न पनि पाउँदा उत्पादन खेर गएन र बजार पनि खोजिराख्नु परेन,” उनी भन्छिन्।
उनका अनुसार, १० जनाको समूहले आफ्नै खेतबारीमा उत्पादन गर्ने गरी खाद्यान्नमा लगानी गरेका छन्। त्यसो त, उनको आफ्नै सिलाइबुनाइ पसल पनि छ। महोत्सवले उनको मौलिक नेवारी पोसाकको व्यापारसमेत बढाएको छ।
यद्यपि, जेन–जी आन्दोलनपछि तेस्रो हप्तामा चलिरहका महोत्सव अलि सुस्त छन्। हाँडीगाउँकी मिना प्रजापति चलिरहेको बजार एक्कासि रोकिँदा पहिलेको जस्तो गति लिन गाह्रो भइरहेको बताउँछिन्। लगानीअनुसार ठिकठाक मात्र फाइदा भइरहेको महोत्सवले निरन्तरता पाउनसके पुनः गति लिनेमा उनी विश्वस्त छिन्।
मिनासँग आशा मात्र होइन गुनासो पनि छ। उनको गुनासो हाँडीगाउँको महोत्सव व्यवस्थापन गरिरहेको समितिसँग हो। “महोत्सव शुरू गर्ने क्रममा आएका आगन्तुकका लागि ट्वाइलेट आ–आफ्नो घरमै प्रयोग गर्न दिने भनिएको थियो। त्यसबापत हामीलाई समितिले हर्पिक र फिनायल दिने भनिएको हो। अहिलेसम्म पाएको छैन,” उनी भन्छिन्, “हाँडीगाउँ उसै पनि पानीको हाहाकार भएको क्षेत्र हो। दुई वर्षअघि हामीलाई पानी व्यवस्था गरिदिने भनेको थियो, त्यो पनि पूरा भएन।”
नर देः जीवन्त हाँडीगाउँ समितिका अध्यक्ष गोपाल डंगोल पहिलो चरणमा स्टललाई चाहिने पाल, सरसफाइको लागि हर्पिक, फिनायल आदि बाँडिएको दाबी गर्छन्। कमीकमजोरी भए सुधार्दै जाने उनले बताए।
महोत्सव समिति र वडाले के गर्दै छन्?
टोखा सांस्कृतिक संरक्षण क्षेत्रका अध्यक्ष गणेशमान श्रेष्ठ यो महोत्सवका लागि शुरूमा यहीँका रेस्टुरेन्ट क्याफे सञ्चालकलाई आग्रह गरेको बताउँछन्। “उहाँहरूको खासै रुचि नदेखिएपछि स्थानीय दिदीबहिनीसँग सहकार्य गर्यौं,” उनी भन्छन्, “शुरूमा काम गर्ने आत्तिएका, डराएका र संकोच मानेका दिदीबहिनीहरू अहिले मिडिया, युट्युबरसँग पनि खुलस्त गफगाफ गर्नुहुन्छ।”
महोत्सवको आयोजक टोखा नगरपालिकाको वडा नं. २ र ३ हुन्। व्यवस्थापकीय सहयोगीको रूपमा आफूहरू रहेको श्रेष्ठले बताए। यहाँ स्टल राखेबापत प्रत्येक समूहले दिनको ५०० समितिलाई तिर्नुपर्छ। हप्तामा ८–१० लाख र महिनामा ५०–६० लाखको कारोबार हुने उनको दाबी छ।
हस्तकला र अन्य सांगीतिक कार्यक्रम पनि यो महोत्सवमा थप्दै जाने योजना रहेको उनले सुनाए। त्यसमा पनि महिलालाई नै प्राथमिकता दिइने उनको भनाइ छ। स्टलका लागि चाहिने पाल, शौचालय, पानीजस्ता विषयमा काम गर्न बाँकी रहेको उनी बताउँछन्।
हाँडीगाउँ क्षेत्र पर्ने काठमाडौँ महानगर–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति समग्रमा महोत्सवले महिला उद्यमशीलतालाई टेवा पुर्याइरहेको बताउँछन्। उनी भन्छन्, “हाँडीगाउँका बाटोघाटो साँघुरो हुँदा शनिबार भेइकल फ्रि अर्थात्, सवारीसाधान गुड्न नपाउने गरियो। यसरी शनिबार फुर्सद्को दिन पनि कोठामा गुम्सिएर बसेका महिलालाई बाहिर निकाल्न सक्यौँ। महोत्सवमार्फत यहाँका दिदीबहिनीले लगानीभन्दा दोब्बर कमाइ गरिरहनु भएको छ।”
महिला उद्यमीमा थप टेवा पुग्ने गरी वडाले बेलाबेलामा अतिथि भ्रमणसमेत गराइरहेको छ। गत भदौ २८ गते कूटनीतिक नियोगका अधिकारीलाई महोत्सवमा ल्याउने योजना भए पनि जेन–जी आन्दोलनले सफल नभएको प्रजापतिको भनाइ छ।
जेन–जी आन्दोलनपश्चात गत पुस १२ गते मात्र पुनः संचालनमा आएको महोत्सवमा सुरक्षा व्यवस्था बढाइएको उनले जानकारी दिए। “पुनः सञ्चालनअघि दिदीबहिनीसँग मिटिङ बसेको थियौँ, उहाँहरूको गुनासो सुन्ने मौका पनि पायौँ,” उनले भने, “सरसफाइ अपुग भएको विषयमा वडा जानकार थिएन। सम्बन्धित समितिसँग यस विषयमा कुराकानी गर्नेछु।”

वडाले व्यक्तिगतभन्दा पनि समूह केन्द्रित भएर काम गर्ने हुँदा आवश्यक व्यवस्थापनको पाटोलाई बिस्तारै सम्बोधन गर्ने वडाध्यक्ष प्रजापतिले बताए। महोत्सवलाई थप आकर्षित बनाउन भजनजस्ता सांगीतिक प्रस्तुति र झाँकी थप्ने योजना रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
