वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमणको आरोपमा ६ जना पक्राउ

वीरगञ्जको आदर्शनगरस्थित गोदाममा छापा मार्न पुगेका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका ६ जनामाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्रोसम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ।

वीरगन्ज– गत सोमबार वीरगन्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ६ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आर्दशनगरस्थित मदन गुप्ताको अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते हुनुका साथै सशस्त्र प्रहरीका दुई वटा सवारीसाधनमा क्षति पुगेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ६ जनालाई पक्राउ गरेर ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रोसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा वीरगन्ज महानगर–१० घडीअर्वाका प्रमोदकुमार कानु, सोही ठाउँका कुञ्जन सर्राफ, वीरगन्ज–१ छपकैयाका दिपराजसहनी मलाह, विन्दवासिनी गाउँपालिका–५ का श्रीचन्द्रप्रसाद साह र भारत विहार राज्य घर भएका प्रभु महतो र पृतमकुमार चौधरी रहेका छन्।

संयुक्त टोलीले भन्सार छली गरेर समान भित्र्याएको आशंकामा आदर्शनगरस्थित गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको थियो। सो ठाउँबाट सशस्त्र प्रहरीले करिब १२ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने सामान बरामद गरेको जनाएको छ।