जेनजी आन्दोलनका क्रममा लुटिएको पेस्तोल र गोलीसहित एक पक्राउ

जेनजी आन्दोलनका बेला प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित झापामा एक जना पक्राउ परेका छन्।

काठमाडौँ– आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हतियार र लागुऔषध लुकाइएको विशेष सूचनाका आधारमा आइतबार छापा मारिएको थियो। सो क्रममा घरपछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाएको ९ एमएमको पेस्तोल र ४० राउन्ड गोली बरामद भएको हो।

प्रहरीका अनुसार उक्त कार्यमा संलग्न तुलबहादुरका छोरा सौगात थापा मगर भने फरार छन्। पक्राउ परेका राजवंशीलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्रवक्ता खड्काले जानकारी दिए।

कारागारबाट फरार सात कैदी पक्राउ
आन्दोलनको समयमा काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। गत भदौ २४ गते फरार भएका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न स्थानबाट नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा रसुवाका तेन्जिङबहादुर तामाङ, लमजुङका प्रितम गुरुङ, कञ्चनपुरका बविता तामाङ, काभ्रेपलान्चोकका विक्रम नेपाली, दोलखाका भुवन तामाङ, सिन्धुलीका भुवन तामाङ र भारतीय नागरिक रोशन साह रहेका छन्।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका बेला फरार भएका उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित कारागार पठाइएको छ।