सब–इन्जिनियर हत्याको विरोधमा सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

सर्लाहीमा कार्यरत सब-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएपछि दोषीलाई कारबाही र सुरक्षाको माग गर्दै जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध पारेका छन्।

सर्लाही– सदरमुकाम मलंगवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब–इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा सोमबार सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध गरेका छन्। जिल्ला अदालतको मूलद्वारमा धर्ना दिँदै उनीहरूले हत्याका दोषीलाई कारबाही तथा कर्मचारीको सुरक्षा सुनिश्चित हुनुपर्ने माग राखेका छन्।

पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहाको सुखीपुर नगरपालिका–६ वैशाखा घर भएका ३६ वर्षीय सब–इन्जिनियर प्रमोदकुमार यादवको आइतबार राति मलंगवा नगरपालिका–१० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए। सब–इन्जिनियर यादव आइतबार दिउँसो मात्र बुबाको काजकिरिया सकेर मलंगवा फर्किएको सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए। उनी घरबाट फर्किएलगत्तै घटना भएको देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकलमा आएका व्यक्तिले सब–इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर गोली प्रहार गरेको मृतककी श्रीमती पुनम यादवले बताइन्। उनको देब्रे छातीमा गोली लागेको प्रहरीले जनाएको छ। घटनास्थलबाट गोलीको एक थान खोका बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको पाइएको प्रहरी नायव उपरीक्षक सरोज राईले बताए। गोली लागेर ढलेका यादवलाई आइतबार राति नै प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

हालसम्म गोली प्रहारको कारण खुल्न नसकेको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिए। सब–इन्जिनियर यादव श्रीमती र दुई वर्षीया छोरीसँगै मलंगवा–१० मा डेरामा बस्दै आएका थिए।