सब-इन्जिनियरको हत्याको विरोधमा मधेश प्रदेशका कर्मचारीले गरे ‘पेनडाउन’, शीघ्र छानबिनको माग

सर्लाहीमा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा मधेश प्रदेशका कर्मचारीहरूले मंगलबार हातमा कालोपट्टी बाँधेर ‘पेनडाउन’ गरी कामकाज ठप्प पारेका छन्।

धनुषा– मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत कार्यरत कर्मचारीहरूले सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्याको विरोधमा ‘पेनडाउन’ गरेका छन्। कर्मचारीहरूले मंगलबार हातमा कालोपट्टी बाँधेर कार्यालयको कामकाज ठप्प पार्नुका साथै घटनाको निष्पक्ष र शीघ्र छानबिनको माग गरेका छन्।

पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इन्जिनियर यादवको आइतबार राति मलंगवा नगरपालिका–१० मा अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो। यस घटनापछि प्रदेशभरका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरू आन्दोलित भएका छन्।

आन्दोलनमा सहभागी कर्मचारीहरूले सार्वजनिक सेवामा खटिएका प्राविधिकमाथि भइरहेका यस्ता आक्रमणले कार्यस्थलको सुरक्षा चुनौती बढाएको बताएका छन्। उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

विभिन्न कर्मचारी संघ-संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्। यस्ता हिंसात्मक घटनाले कर्मचारीको मनोबल गिराउने र सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने विज्ञप्तिमा उल्लेख छ।